दिक्तेल रूपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ।

बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध दोहनका कारण वातावरणीय संकट गहिरिँदै गएको अवस्थामा संरक्षणका लागि अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

'स्वच्छ हावा, सफा पानी, उर्वर भूमि र जैविक विविधताविना मानव अस्तित्वको कल्पना गर्न सकिँदैन। वातावरण मानव जीवनको आधार हो, उनले भने, 'यस अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, नागरिक सहभागिता बढाउन तथा भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसात गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ। ‘म वातावरणको संरक्षण गर्छु’ अभियान अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा औपचारिक रूपमा सुरु गरिनेछ।

अभियानको पहिलो दिन जेठ २१ गते हाटडाँडादेखि मझुवागढीसम्म वृक्षरोपण तथा नगर सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। सोही दिन दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयबाट ‘म वातावरणको संरक्षण गर्छु’ भन्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियानसमेत सुरु गरिने जनाइएको छ। अभियानअन्तर्गत विभिन्न सरकारी कार्यालय, संघसंस्था तथा नगरभित्रका विद्यालयहरूमा हस्ताक्षर संकलन गरिनेछ।

अभियानको दोस्रो दिन सरस्वती माध्यमिक विद्यालयमा वातावरणसम्बन्धी सरोकारवालासँग विद्यार्थीहरूको अन्तरसंवाद कार्यक्रम आयोजना गरिनेछ। साथै, विभिन्न विद्यालयहरूले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। सरस्वती माध्यमिक विद्यालयले साकेला नाच, पञ्च माध्यमिक विद्यालयले संगिनी नाच, दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कुलले सडक नाटक, माउन्ट एभरेस्ट बोर्डिङ स्कुलले लाखे नाच तथा हिलसाइड बोर्डिङ स्कुलले तामाङ सेलो प्रस्तुत गर्नेछन्।

अभियानको तेस्रो दिन नगरवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागितामा मध्यपहाडी लोकमार्गको हुर्लुङदेखि रेडपाण्डा–थार पदमार्ग हुँदै रुपाकोट डाँडासम्म पर्यावरणीय यात्रा गरिनेछ। नगरपालिकाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

नगरपालिकाका अनुसार अभियानले वातावरणीय चेतनाको अभिवृद्धि, हरित अभियान तथा वृक्षरोपणको प्रवर्द्धन, फोहर व्यवस्थापनमा सुधार, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जैविक विविधता संरक्षणमा सहयोग पुग्नेछ। साथै युवा पुस्ता र विद्यार्थीमा वातावरणप्रतिको जिम्मेवारीबोध विकास हुने विश्वास गरिएको छ।

वातावरण संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभई सम्पूर्ण मानव जातिको साझा दायित्व भएकाले अभियान सञ्चालन गर्ने निर्णय गरिएको नगर उपप्रमुख विशन राईले बताए। उनले अभियान सफल बनाउन सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा नगरवासीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहका रूपमा रहेको १५ वडा समेटिएको यस नगरपालिकाले यसअघि पनि जैविक विविधता तथा पर्यावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव, जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनलगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।

राष्ट्रिय बाँस सम्मेलनमार्फत बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन र नीति निर्माणका लागि दबाब सिर्जना भएपछि नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ। उक्त मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री तथा किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ।

जैविक विविधता तथा वातावरण संरक्षणमा उल्लेखनीय काम गरेको भन्दै नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सम्मानित गरेको छ। बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीय स्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा विकास गर्न योगदान पुर्याएको, साथै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नास्टले नगरपालिकालाई पुरस्कृत गरेको जनाएको छ।

सुझावित समाचार