धनकुटा नगरपालिकाकी एक मात्र अटोचालक महिला तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ। धनकुटा नगरपालिका– ७, टोमुवानिवासी राईलाई आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा धनकुटा नगरपालिकाले ६ हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको हो ।
धनकुटा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा क्षेत्रमा एक मात्रै महिला सवारीचालकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै महिलाको रोजगारी र सशक्तीकरणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो। अटोचालक राईलाई जिल्ला समन्वय समिति धनकुटाी उपप्रमुख सावित्रा राई र धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाललगायतले नगदसहित सम्मानपत्रले सम्मान गरेका हुन् ।
३६ वर्षीया राई विगत दुई वर्षदेखि अटो चलाउँदै आएकी छिन्। अटो चलाएर जीविकोपार्जन गर्दै आएकी राईले तीन लाख ५० हजार रुपैयाँको लगानीमा अटो खरिद गरेकी थिइन्। अटो चलाएर मासिक ३५ देखि ४० हजारसम्म आम्दानी हुने गरेको अटोचालक राईले बताइन् । आफूले गर्दै आएको पेसालाई सम्मान गर्दै धनकुटा नगरपालिकाबाट सम्मानित हुँदा आफ्नो पेसाप्रति थप विश्वास र हौसला बढेको चालक राईले बताइन् । जीर्ण सडक पूर्वाधारका कारण अटो चलाउन जोखिम भए पनि यो पेसालाई निरन्तरता दिने राईको योजना छ ।
सोही अवसरमा महिला सिप विकास क्षेत्रमा लगनशील भएर प्रशिक्षकको रूपमा सक्रिय धनकुटा नगरपालिका– ५ की रेणु श्रेष्ठलाई सम्मान गरिएको छ। लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजा कार्यन्वयन इकाइ धनकुटा नगरपालिकाले ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ आठौँ महिला अधिकार दिवस धनकुटामा मनाइएको छ ।