स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवाप्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंकले अनुमतिपत्र (लाइसेन्स)मा शतप्रतिशत स्वामित्व पाए मात्रै नेपाल आउने सर्त राखेको छ । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा इन्टनरनेट सञ्चालनका लागि यस्तो सर्त राखेको हो ।
स्टारलिंककी निर्देशक रेबिका हन्टरले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गर्दै आफूहरू नेपालमा सेवा सञ्चालनका लागि इच्छुक रहेको बताएकी हुन् । तर, त्यसका लागि कानुनी तथा नीतिगत सहजीकरण चाहिने उनले बताइन् ।
भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको, तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने उनले राखिन् ।
यद्यपि, व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवाप्रदायकसँग छलफल भइरहेको उनले बताइन् । भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रियाअनुरूप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताए ।