राजस्वको लक्ष्यमा ‘ऐतिहासिक परीक्षा’

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ल्याइएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटलाई ठुलो आकारको भनिए पनि कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुपातमा हेर्दा यो सानो र व्यवस्थापनयोग्य रहेको बताएका छन् ।

बजेटले राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको १८ खर्ब ९० अर्ब रुपैयाँको सीमा नाघेको भन्दै आलोचना भइरहेका वेला उनले जिडिपीको अनुपातमा बजेट केवल २८ प्रतिशत मात्रै रहेको स्पष्ट पारे ।

अर्थमन्त्री डा. वाग्लेले बजेट राम्रो आएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको टीकाटिप्पणी भइरहेको भन्दै अर्को आर्थिक वर्षको वैशाख–जेठसम्म कुर्न आग्रह गरे । विशेष गरी करिब तीन खर्ब रुपैयाँ पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खरिद प्रक्रिया र कार्यान्वयनलाई तीव्रता दिन सके समग्र बजेट खर्चको अवस्था सुधार हुने उनले विश्वास व्यक्त गरे । ‘यसपटक बजेट कार्यान्वयनको शैली फरक छ,’ उनले भने, ‘अर्को वर्ष वैशाख–जेठतिर यसको मूल्यांकन गर्नुस्। अहिलेका लागि हामीलाई शंकाको सुविधा दिनुहोस् ।’

सरकारले आगामी वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । कोभिडपछि औसत ८–९ प्रतिशतका दरले बढिरहेको राजस्वलाई २० प्रतिशतको वृद्धिमा पुर्याउने लक्ष्य चुनौतीपूर्ण भए पनि सम्भव रहेको अर्थमन्त्रीको दाबी छ।

उनले यसलाई सरकारको ‘ऐतिहासिक परीक्षा’का रूपमा चित्रण गरे। कर नीतिबारे बोल्दै अर्थमन्त्रीले सरकारले आयकरमा राहत दिएर उपभोगमा आधारित कर प्रणालीलाई बलियो बनाउने रणनीति लिएको बताए। सेयर बजारसम्बन्धी कर नीतिमा पनि अन्योल नरहेको र पुँजीगत लाभकर नै अन्तिम हुने उनको भनाइ थियो। 

सुझावित समाचार