स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोंगले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–चीनबिचको घनिष्ठ सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
भेटका क्रममा मन्त्री मेहताले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहयोग तथा स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा गरेको योगदानको प्रशंसा गरिन्। उनले चीनले हासिल गरेको विकासबाट नेपालले सिकेर योजनाबद्ध रूपमा अघि बढ्ने बताइन्।
राजदूत चेनले नेपालको आर्थिक तथा सामाजिक विकासमा वर्तमान सरकारले उल्लेखनीय सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दै चीन सरकार नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए।
उनले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार विकास तथा खाद्य स्वच्छताका क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्ताव पनि राखे।
भेटमा मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए।