बर्दियाको गुलरियामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना दिवसको अवसरमा अन्तर्क्रिया गरेर मनाइएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३१औँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायबिचमा अन्तर्क्रिया गरेर मनाइएको हो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बर्दियाको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासंघको केन्द्रीय उपाध्यक्ष मोहम्मद कर खाँले सामुदायिक वन जोगाउन समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले भने, 'उपभोक्ताले गर्दा वन बचेको छ। तर, आज समुदायका उपभोक्ताहरू नै महँगो दरमा काठ किन्न बाध्य छन्। तीनवटा सरकारले लगाएको वनमाथि लगाएको अनावश्यक कर हटाउन जरुरी रहेको छ। कम्तीमा एकद्वार प्रणालीबाट कम लिने व्यवस्थापन गर्नुपर्छ।
सामुदायिक वनले गर्दा नै विश्वमा वन संरक्षण गरेको भन्दै चर्चा पाएको उपाध्यक्ष कर खाँले बताए। उनले भने, 'अब सामुदायिक वनबाट स्वरोजगार हुने गरी समुदायलाई स्वरोजगार बनाउन आवश्यक रहेको छ।'
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बर्दियाका अध्यक्ष गोपालप्रसाद चौधरीले वनको दिगो व्यवस्थापन र त्यसको उपयोगले अर्थतन्त्र सुधार ल्याउने बताए। उनले भने, 'सामुदायिक वनमा संरक्षण र त्यसको व्यवस्थापन गरी वनको सही रूपमा प्रयोग गर्न सके समुदायलाई पनि फाइदा पुग्ने, जैविक विविधताको संरक्षण हुने जलवायुको असरलाई पनि कम गर्न सकिन्छ।
फेकोफनका सहककर्ता लोकराज परियारले बर्दिया जिल्लाका सबै नगर महासंघका प्रतिनिधि सहभागीहरूको सहभागितामा सामुदायिक वनको निति तथा पैरवीको बारेमा अन्तर्क्रियात्मक कार्यक्रम गरिएको बताए।