काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक नतिजाअनुसार परीक्षामा एकजना विद्यार्थीले ९२ अंक ल्याएका छन् ।
एकजनाले ९१ अंक र पाँचजना विद्यार्थीले ९० अंक ल्याएका छन् । परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएको महानगरले जनाएको छ । महानगरले यही जेठ १ गतेदेखि १० गतेसम्म छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो भने आइतबार परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो ।
जसमा न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको छात्रवृत्ति परीक्षा समितिले जनाएको छ ।
