राप्रपाबाट बाहिरिए धवलशमशेर राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

राप्रपा महामन्त्री धवलशमशेर राणा पार्टीबाट बाहिरिएका छन् । आइतबार काठमाडौंमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढेको जानकारी दिँदै २१ जेठमै आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताए । 

‘आइतबार निकट साथीहरूबिच भेटघाट मात्र गरिएको हो, मैले आफ्ना कुरा वक्तव्यमार्फत ल्याएको छु, अहिलेलाई त्यही नै हो, विस्तृत सबै २१ गते थाहा पाउनुहुनेछ,’ राणाले नयाँ पत्रिकासँग भने ।

राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाएका छन् । त्यस्तै, उनले आफूले तय गरेको बाटोमा सहभागी हुन पनि उनले राप्रपा पंक्तिलाई आह्वान गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आमराष्ट्रवादी मित्रहरूलगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले विज्ञप्तिमा भनेका छन् । 

त्यस्तै, उनले राप्रपामा आफू नरहनुका कारण पनि खुलाएका छन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौँ । तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबिच गलत बाटोमा हिँड्ने–हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्, ‘राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु,’ राणाले भनेका छन् । 

सुझावित समाचार