काकाकुल कटारी : रित्ता गाग्री बोकेर मेयरको घर घेरेपछि दमकलमा आयो पानी

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो । खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबाबमा उत्रिनुपर्यो । स्थानीयहरूले रित्तो गाग्रीसहित कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको घर घेरेपछि भने आइतबार दिउँसो दमकलबाट पानी वितरण गरिएको छ ।

‘आइतबार १० दमकल पानी बाँडेका छौँ, एक घरले ३० लिटरसम्म पाएका छन्,’ उनले भने, ‘होटेलहरूले भने अपुग पानी आफैँ ल्याएका छन् ।’ नगरपालिकाले दमकलबाट चोकचोकमा पानी बाँडेपछि स्थानीय बाल्टिन, गाग्री लिएर पुगेका थिए । मेयर श्रेष्ठले तत्कालका लागि दमकलबाट पानी वितरण गरिएको र मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । ‘भोलि वा पर्सिसम्म पानी सञ्चालन हुन नसके नगरपालिकाको स्रोत प्रयोग गरेर पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर अहिले दमकलबाट पानी वितरणको व्यवस्था गरेका छौँ,’ उनले भने । खानेपानी अभावका कारण कटारी नगरपालिका–३, ४ र ५ का अधिकांश बासिन्दा प्रभावित भएका छन् । कटारी–४ डाँडाटोलका बासिन्दा आइतबार रित्तो गाग्री बोकेर मेयर श्रेष्ठको घर पुगेका थिए । 

बजार क्षेत्रका घरपरिवारसँगै होटेल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूमा समेत पानीको अभावले समस्या सिर्जना गरेको स्थानीय युवा अस्मित पौडेलले बताए । धाराको पानी बन्द भएपछि कतिपयले खोलाबाट अटोरिक्सामार्फत पानी ल्याएर दैनिक काम चलाउन थालेका छन् । बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी व्यवस्थापन गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् ।

स्थानीय केदार रानामगरका अनुसार डाँडाटोल क्षेत्रमा न इनारको सुविधा छ, न त अन्य वैकल्पिक स्रोत नै उपलब्ध छ । ‘पानी नभएर शौच गर्न, लुगा धुन, नुहाउन सबै समस्या भएको छ,’ उनले भने, ‘अहिले त भात खाने थाल धुनसमेत पानी छैन । त्यसैले बाध्य भएर रित्तो गाग्री बोकेर मेयरको घरसम्म पुग्नुपर्यो ।’ कटारी बजारमा पानी आपूर्ति गर्ने नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार आयोजनाको मुख्य मोटरमा प्राविधिक समस्या देखिएपछि पानी वितरण प्रभावित भएको हो । नयाँ मोटर जडानको प्रक्रिया जारी रहेको र छिट्टै समस्या समाधान हुने उनले बताए ।

सुझावित समाचार