कटारीमा मेयरको घर रित्तो गाग्रीसहित स्थानीयले घेराउ गरेपछि दमकलबाट पानी वितरण

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीयवासीले मेयरको घर घेराउ गरेका छन् । खानेपानीको चरम संकट झेलिरहेका कटारी– ४ डाँडाटोलका स्थानीयहरूले आइतबार बिहान रित्तो गाग्री बोकेर कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको घर घेराउ गरेपछि दिउँसो दमकलबाट पानी ल्याएर वितरण गरिएको हो ।

कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको खानेपानी आयोजनाको मोटर बिग्रिएपछि कटारी बजार तथा आसपासका बस्तीमा लामो समयदेखि पानी आपूर्ति बन्द छ । खानेपानी अभावका कारण बिहानैदेखि आक्रोशित स्थानीयवासी रित्तो गाग्री बोकेर मेयर श्रेष्ठको घर पुगेको स्थानीय युवा अस्मित पौडेलले जानकारी दिए ।  

स्थानीय केदार रानामगरका अनुसार डाँडाटोल क्षेत्रमा न त इनारको सुविधा छ, न त अन्य वैकल्पिक स्रोत नै उपलब्ध छ । ‘पानी नभएर शौच गर्न, लुगा धुन, नुहाउन सबै समस्या भएको छ,’ उनले भने, ‘अहिले त भात खाने थाल धुनसमेत पानी छैन । त्यसैले बाध्य भएर रित्तो गाग्री बोकेर मेयरको घरसम्म पुग्नुपर्याे ।’

स्थानीयको गुनासो सुनेपछि मेयर श्रेष्ठले तत्काल समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका थिए । उनले भने, ‘मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रक्रिया अन्तिम चरणमा छौँ । भोलि वा पर्सिसम्म पानी सञ्चालन हुन नसके नगरपालिकाको स्रोत प्रयोग गरेर पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर अहिले दमकलबाट पानी वितरणको व्यवस्था गरेका छौँ ।’

खानेपानी अभावका कारण कटारी नगरपालिका– ३, ४ र ५ का अधिकांश बासिन्दा प्रभावित भएका छन् । बजार क्षेत्रका घरपरिवारसँगै होटेल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूमा समेत पानीको अभावले समस्या सिर्जना गरेको छ । धाराको पानी बन्द भएपछि कतिपयले खोलाबाट अटो–रिक्सामार्फत पानी ल्याएर दैनिक काम चलाउन थालेका छन् । 

बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी व्यवस्थापन गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । मेयर श्रेष्ठका अनुसार नगरपालिकाले खरिद गरेको मोटरसमेत भन्सार प्रक्रियामा रहेकाले केही प्राविधिक जटिलता उत्पन्न भएको हो । यद्यपि, नयाँ मोटर जडान गरी छिट्टै खानेपानी सेवा पुनः सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए।

कटारी बजार नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार आयोजनाको मुख्य मोटरमा प्राविधिक समस्या देखिएपछि पानी वितरण प्रभावित भएको हो । नयाँ मोटर जडानको प्रक्रिया जारी रहेको र छिट्टै समस्या समाधान हुने उनले बताए ।
 

सुझावित समाचार