सिराहाको गोलबजारका बालबालिकाहरूले आफूहरूको भविष्य र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बालविवाहको अन्त्यसम्बन्धी योजनासहित अभियान सञ्चालन गर्न माग गरेका छन्।
‘किशोरी शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र सशक्तीकरणका लागि सामूहिक प्रतिबद्धता’ भन्ने नारासहित गोलबजार नगरपालिकाको समन्वयमा शनिबार सम्पन्न दुईदिने दोस्रो नगरस्तरीय बालिका सम्मेलनपछि १० बुँदे घोषणापत्र जारी गर्दै बालबालिकाहरूले बालविवाहमुक्त वडा/पालिका घोषणाका लागि कार्यविधि बनाएर क्रियाकलाप सञ्चालन गर्न माग गरेका हुन्।
घोषणापत्रमा विभिन्न कारणले विद्यालय छोडेका २० वर्षमुनिको उमेर समूहका किशोरीहरूको तथ्यांक संकलन गरी पुनः विद्यालय भर्नामा सहयोग, जोखिममा रहेका किशोरीहरूका लागि छात्रवृत्ति र किशोरीमैत्री विद्यालय वातावरणका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।
कैयन् नवविवाहित युवतीहरूको अकाल मृत्युको कारण बनिरहेको दाइजो प्रथा अन्त्य गर्न वर्षमा कम्तिमा दुईपटक अभिभावक, धार्मिक अगुवा, शिक्षक, युवा, विद्यार्थी, महिला समूह तथा जनप्रतिनिधहरुसँग सामुदायिक संवादमार्फत खबरदारी अभियान संचालन गरिनुपर्ने घोषणापत्रमार्फत माग गरिएको छ।
घोषणापत्रमा पालिकाको वार्षिक कार्यक्रम तथा बजेटमा किशोरी संजाललाई पनि समेट्नुपर्ने, हरेक वडा तथा नगर तहमा कम्तिमा दुईजना किशोरी प्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता, मानसिक स्वास्थ्य तथा परामर्श सेवा, डिजिटल सुरक्षा तालिम, गोप्य उजुरी, सहायता प्रणाली तथा सुरक्षा आवासको व्यवस्थासँगै वार्षिक बजेट र अनुगमन गरी महिला सुरक्षा आवास स्थापना गर्नुपर्ने माग गरिएको छ।
बालिकाहरू स्वयं सजग बन्न जोड
कानुनी रुपले बन्देज रहेको बालविवाह रोक्न मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनसहित व्यक्ति, समुदायलाई जागरुक गराउँदै किशोरीहरु पनि सजग बन्नुपर्नेमा सरोकारवालहरुको जोड छ। जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतो बालविवाहविरुद्ध रहेका कानुनी व्यवस्थाबारे सचेतना बिस्तार गर्दै बालविवाह गर्न कसैले दबाबसहित हिंसा गरे कानुनी उपचारमा जानुपर्ने बताउँछन्।
‘किशोरीहरुलाई सीप, क्षमता र नेतृत्व विकासमा पनि ध्यान दिइनु पर्छ,’ उनले भने ‘त्यति गर्न सकियो भने किशोरीहरुले आफ्नो समस्या सम्बन्धित ठाउँमा निर्धक्क राख्न सक्छन्।’ नेपाल बार एशोसिएसन सिरहाका अध्यक्ष वीरेन्द्रकुमार लाल कर्णले विभिन्न खालका हिंसामा परेका गरिब, दलित तथा विपन्न परिवारका महिला, किशोरीहरुका लागि जिल्लामा वैतनिक वकिल, प्रदेशका कानुन अधिकृत, जिल्ला कानुनी सहायत समिति र एशोसिएसनले निःशुल्क सेवा दिने कुरा गाउँ गाउँमा प्रचार गर्न आग्रह गरे।
उमेर नपुगी विवाह गर्ने मधेशमा बढी
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मुलुकमा ३५.१ प्रतिशत बालविवाह हुने गरेको छ। कुल बालविवाहमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका आठ जिल्लामा ४२.४ प्रतिशत रहेको कार्यक्रम संयोजक विशेश्वर दासले जानकारी दिए। गरिबी, अशिक्षाजस्ता कारणले बालविवाह भइरहेका मुख्य दक्षिण एशियाली मुलुकहरु बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा रहेको उनले बताए।
जनगणनाको तथ्यांकअनुसार सिरहामा पहिलोपटक १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने १४.४ प्रतिशत महिला र ५.१ प्रतिशत पुरुष छन्। त्यस्तै, १५ देखि १७ वर्षको उमेरमा विवाह गर्ने महिलाहरु ३९ प्रतिशत र पुरुष १६.८ प्रतिशत तथा १८ वर्ष देखि २० वर्ष नपुग्दै विवाह गर्ने महिला ४२.८ प्रतिशत र पुरुष ३८.६ प्रतिशत छन्।
राष्ट्रिय तहमा भने पहिलोपटक विवाह गर्ने १० देखि १४ वर्षको उमेरका १०.२० प्रतिशत महिला र पुरुष ३ प्रतिशत, १५ वर्ष देखि १७ वर्षको उमेरमा विवाह गर्ने महिला ३०.४ प्रतिशत, पुरुष १२.३ प्रतिशत र १८ देखि २० वर्ष नपुग्दै विवाह गर्ने महिला ३५.९ प्रतिशत र पुरुष ३२.६ प्रतिशत छन्।
बालविवाहले हुने हानी र थप समस्याको बारेमा जानकारी अभाव, बालविवाह दण्डनीय अपराध हो भन्ने कुरालाई नजरअन्दाज गर्ने, सामाजिक सञ्जालको दुरुपयोग, विवाहमा अभिभावकको निर्णायक भूमिका, किशोरकिशोरीको अपरिपक्वता, गरिबी, अशिक्षा र दाइजोलगायतका कारणले बालविवाह भइरहेको सामाजिक अभियन्ताहरु बताउँछन्।