फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत् क्षेत्रमा लगानी विस्तार बढाएको छ। यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबिच नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एक कार्यक्रमबिच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन्।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत् आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमासमेत विशेष टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

सुझावित समाचार