नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको देखिएकाले साथीको रूपमा विवाद समाधान गर्ने बताएका थिए।
मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तहरूलाई संविधानले नै अपरिवर्तनीय भनेको उल्लेख गर्दै मल्लले भने, ‘मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी एउटा जिम्मेवार सदनको रोस्टमबाट गर्नुभएको छ, यो सामान्य विषय होइन।’
मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्ले सुधार गर्नुपर्ने प्रस्ट पार्दै उनले भने, ‘यो कुरा धेरै नै गम्भीर छ । कुनै मुलुकका सरकारप्रमुख, राष्ट्रप्रमुखले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौँ भन्छ होला ! सम्माननीय प्रधानमन्त्रीजीको यो अभिव्यक्तिलाई हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्छ र यो गम्भीर अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।’