नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन तत्परता देखाउनु सकारात्मक कदम भएको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले रोस्टममा पुगेर सांसदहरूलाई प्रश्न गर्न आग्रह गरेपछि केही सांसदहरूले नियमावलीविपरीत भएको भन्दै नियमापत्ति जनाएका थिए। त्यसक्रममा बोल्दै सांसद केसीले प्रधानमन्त्रीको उपस्थितिलाई स्वागतयोग्य बताए पनि संसदीय नियमावलीअनुसारको प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनले प्रधानमन्त्रीको संसद् उपस्थितिलाई अन्य लोकतान्त्रिक मुलुकहरूमा समेत अभ्यास हुने विषय भएको उल्लेख गर्दै नियम र प्रक्रियाको सम्मान गर्न आवश्यक रहेको बताए।