एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । अध्यक्ष केपी ओलीले कार्यविभाजन गरिएको जानकारी गराउँदै अन्तरपार्टी निर्देशन जारी गरेका छन् । पदाधिकारीबाहेक सबै नेतालाई आगामी वर्ष हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनलक्षित जिम्मेवारी तोक्दै खटाइएको छ ।
सबै केन्द्रीय सदस्यहरूलाई पालिका र वडाहरू नै तोकेर पार्टी जागरण अभियानमा खटाइएको अपानीमा उल्लेख छ । ‘पार्टीको समग्र कार्यविभाजन आसन्न स्थानीय तहको निर्वाचन र प्रदेश सभा निर्वाचनसमेतलाई ध्यानमा राखी गरिनेछ ।
उक्त तयारीको कामलाई मिसन पार्टी जागरणका रूपमा अघि बढाइनेछ । यसअन्तर्गत पार्टीका केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोक्ने ।
विभागीय कामका सन्दर्भमा विगतको जस्तै संयोजन र विभागीय प्रमुखको व्यवस्था गर्ने । केन्द्रीय पदाधिकारीबाहेकका सबैलाई स्थानीय चुनावलक्षित पालिकाकेन्द्रित कार्यविभाजन गर्ने,’ अपानीमा भनिएको छ ।