विद्युतमा लगाइएको भ्याट फिर्ता लिन माग

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

पूर्वऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता गर्न माग गरेका छन् ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि पाँच प्रतिशत भ्याटको व्यवस्था गरेका छन् । घिसिङले उक्त निर्णय आमउपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका छन् । 

उनले भने, ‘मासिक ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन् । यस्तो अवस्थामा करले लाखौँ परिवारको मासिक खर्च बढाउनेछ र भान्सा अझ महँगो बनाउनेछ ।’

त्यस्तै, ऊर्जाविज्ञ अर्जुनकुमार गौतमले पनि विद्युत्मा भ्याट लगाउँदा नकारात्मक परिणाम आउन सक्ने बताए । ‘ऊर्जा संक्रमणको चरणमा विद्युत् विलासिताको वस्तु होइन । हरित अर्थतन्त्र विकासको साधनका रूपमा हेर्नुपर्ने हुन्छ । विद्युतीय सवारीसाधन तथा खाना पकाउने विद्युतीय उपकरणको प्रयोग बढाउन खोजिएको वर्तमान अवस्थामा थप करको व्यवस्थाले केही हदसम्म नकारात्मक सन्देश र परिणाम दिन सक्छ,’ उनले भने । डा. सुधांशु केसीले पनि विद्युत्मा भ्याट लगाउनु गलत भएको भन्दै सामाजिक सञ्जालबाट विरोध गरेका छन् ।

See More On

सुझावित समाचार