खुर्सानीको धुलो फालेर सिक्री लुट्नेलाई प्रहरीद्वारा गोली प्रहार

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

खुर्सानीको धुलो छर्किएर सिक्री लुटेर भागेका एक युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बुढानीलकण्ठको चपली भद्रकाली घर भएका गणेश कार्कीलाई प्रहरीले शनिबार मनहरा टाउन प्लानिङमा एक राउन्ड गोली प्रहार गरेको हो। उनको खुट्टामा गोली लागेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कार्कीले शनिबार डेढ बजेको समयमा काठमाडौं– ४, सुकेधारामा खुर्लासीको धुलो छर्किएर शशिकला मानन्धरको सिक्री र मोबाइल लुटेका थिए। सो घटनामा संलग्न अर्का युवक इलाम घर भएका विष्णु खड्कालाई भने प्रहरीले दिउँसो नै पक्राउ गरिसकेको थियो। 

‘फरार रहेका कार्कीलाई पक्राउ गर्न खोज्ने क्रममा उनले प्रहरीलाई नै खुर्सानीको धुलो छर्किएर भाग्ने प्रयास गरेका थिए,’ एसपी भट्टराई भन्छन्, ‘सोही क्रममा प्रहरीले उनलाई गोली प्रहार गरेको हो, मुठभेडमा सामान्य घाइते भएका प्रहरीको पनि अस्पतालमा उपचार भइरहेको छ।’ प्रहरीले लुटेको सुनको सिक्री पनि बरामद गरेको छ। 

गोली लागेर घाइते भएका कार्की भदौ २४ मा केन्द्रीय कारागारबाट भागेको कैदी भएको प्रहरीले जनाएको छ। यसअघि डाँकाचोरी मुद्दामा उनी ६ वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि उनी पुलिस बनेर लुट्नेलगायत शृंखलाबद्ध अपराधमा संलग्न रहँदै आएका  थिए। यसअघि पनि उनले प्रहरीमाथि खुर्सानीको धुलो छर्किएका थिए।  

सुझावित समाचार