नीति कार्यक्रम पारित विवादले चार दिन स्थगित भएको कोशी प्रदेश सभाको बैठक सञ्चालन भएको छ। संशोधन प्रस्तावको समय नदिएका सभामुखले सर्वसम्मतिबाट नीति कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दलले अवरोध गरेपछि १२ जेठदेखि स्थगित भएको कोशी प्रदेश सभाको बैठक दलहरूबिच सहमति भएपछि शनिबारदेखि सुरु भएको हो ।
चार दिनदेखि स्थगित बैठकको अवरोध अन्त्य भएपछि शनिबारदेखि कोशी प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिने विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त पेस भएर छलफल सुरु भएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले बताए।
शनिबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरूबिच सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले नभई बहुमतले पारित हुनुपर्ने विपक्षी दल नेकपाको अडानमा सहमति जनाएर संसदको गतिरोध अन्त्य गराउन दलहरू सहमत भएका थिए । सोही सहमतिअनुसार सभामुख अम्मरबहादुर विष्टले सभामा नीति कार्यक्रम सर्वसम्मतले नभई बहुमतले पारित भएको जानकारी गराएका थिए।
नीति कार्यक्रम पारित विवादले गर्दा चार दिन स्थगित भएको प्रदेश सभाको बैठक गतिरोध अन्त्य भएर सुरु भएसँगै शनिबार कोशी पदेश सभाका आर्थिक मामिलामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष ०८३ /८४ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्रथामिकता प्रस्ताव संसदमा पेस गरेका थिए।
७ जेठमा कोशी प्रदेश सभामा अगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा मुख्य प्रतिपक्षी दल नेकपाका १५ जना सांसदहरूले अहमति जनाएका थिए।
तर, सभामुख अम्मरबहादुर विष्टले ११ जेठमा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित गराएपछि मुख्य विपक्षी दल नेकपाले विरोध गरेको थियो। १२ जेठमा बसेको बैठकमा पनि सभामुखले नीति, कार्यक्रम बहुमतले पारित भएको भन्दै सच्याउन नचाहेको भन्दै विपक्षी दल नेकपाले संसद् बैठकमा आपत्ति जनाउँदै अवरोध गरेको थियो।
विरोधका क्रममा सांसद राजेन्द्र राईले उफ्रेर रोस्टममा गएर बोल्न खोज्दा मर्यादा पालकले तानेर झारेका थिए। त्यसपछि पनि विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि प्रदेश सभाको बैठक १६ जेठ १ बजेसम्मका लागि स्थगित भएको थियो।