राष्ट्रिय चलचित्र पत्रकारिता दिवस- २०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता, कला र रंग पत्रकारितामा योगदान पुर्याएका तीन व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
शुक्रबार हेटौँडामा आयोजित विशेष समारोहमा संघले पत्रकार सुवास बिडारी, कलाकार तथा निर्देशक विष्णु सापकोटा र वरिष्ठ रंग पत्रकार तथा प्राध्यापक कृष्णप्रसाद भट्टराईलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
चलचित्र पत्रकार संघ मकवानपुर शाखाले पत्रकार सुवास बिडारीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरेको छ । मकवानपुरमा रहेर पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, विकास र प्रचारप्रसारमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
त्यसैगरी, मकवानपुरको हेटौँडा–११ स्थायी घर भई नेपाली चलचित्र तथा टेलिसिरियल क्षेत्रमा सक्रिय कलाकार तथा निर्देशक विष्णु सापकोटा लाई ‘धनमाया श्रेष्ठ स्मृति चलचित्र कलाकर्मी पुरस्कार–२०८३’ प्रदान गरिएको छ। लोकप्रिय टेलिसिरियल हर्के हल्दारका निर्देशक तथा कलाकार सापकोटाले नेपाली कला र मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार कलाकार सुशान्त श्रेष्ठले आफ्नी स्वर्गीय आमा धनमाया श्रेष्ठ को स्मृतिमा स्थापना गरेका हुन् ।
यस्तै, विराटनगर स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका वरिष्ठ रंग पत्रकार तथा प्राध्यापक कृष्णप्रसाद भट्टराई लाई ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ। नेपाली रंग पत्रकारितामा दीर्घकालीन योगदान पुर्याएको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । चलचित्र निर्माता नरेन्द्र महर्जनले आफ्ना स्वर्गीय पिता नन्दबहादुर महर्जनको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालकी केन्द्रीय उपाध्यक्ष दीपज्योति थापा, संघका केन्द्रीय अध्यक्ष कपिल खड्का, चलचित्र निर्माता नरेन्द्र महर्जन, शर्मिला श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलगायतले सम्मानित व्यक्तित्वहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
संघका अध्यक्ष खड्काका अनुसार चलचित्र पत्रकारिता पुरस्कार र चलचित्र कलाकर्मी पुरस्कारबाट सम्मानित पत्रकार सुवास बिडारी तथा कलाकार विष्णु सापकोटालाई जनही ५ हजार १११ रुपैयाँ नगद प्रदान गरिएको थियो। राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित प्राध्यापक कृष्णप्रसाद भट्टराईलाई ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले चलचित्र पत्रकारिता केवल मनोरञ्जन क्षेत्रको रिपोर्टिङमा सीमित नरही कला, संस्कृति र सिर्जनात्मक क्षेत्रको दस्ताबेजीकरण गर्ने महत्वपूर्ण माध्यम बनेको उल्लेख गरेका थिए । उनीहरूले चलचित्र पत्रकारिता र रंग पत्रकारिताको विकासका लागि यस्ता पुरस्कार तथा सम्मानले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकारिता तथा कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।