बर्खा बर्खा सकिएपछि मुस्ताङका खेत फेरि ब्युँझिन्छन् । खेतीपातीमा रौसिएका किसान बिहानै हलो, कोदालो र डोको बोकेर खेततिर लाग्छन् । यो वेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका हुन्छन् । त्यसको प्रतिफल कात्तिक–मंसिरतिर देखिन थाल्छ । त्यसवेला आलु बिस्तारै जमिनमाथि निस्किएर
फैलिन थाल्छ ।
जाडो बढ्दै जाँदा खेतमा आलुका हरिया बोट हुर्किन्छन् । फूल फुलेपछि किसानहरूको आँखामा आशाका किरण छाउँछन् । उनीहरूलाई थाहा हुन्छ, माटोभित्र भविष्य पलाइरहेको छ । आलु खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबै खेतमा जम्मा हुन्छन् । माटो खोतल्दा निस्किने ताजा आलुको सुगन्धले वातावरण भरिन्छ । किसानमा हर्ष बढ्छ । यही मेसोमा कसैले आलुले डोको भर्छन्, कसैले घाममा सुकाउँछन् ।
हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ । कहिलेकाहीँ कठिन हिमपातसँग सम्झौता गर्नुपर्छ । त्यही आलु ट्रक चढेर पोखरा, काठमाडौं र देशका अन्य बजारसम्म पुग्छ । तर, यो यात्रामा चुनौती पनि कम छैन । सडक अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ । तैपनि, मुस्ताङका खेत खाली हुँदैनन् । किनकि, मुस्ताङीलाई थाहा छ, ‘माटो छोडे हिमाली जमिन पनि रित्तिन्छ । त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ ।’
मुस्ताङको आलु केवल खाद्य बाली होइन । यो हिमालीको धैर्य हो । किसानको संघर्ष हो । हिमालको फरक स्वाद बोकेको कथा हो । चिसो हावापानी, विनारासायनिक मल र हिमाली पानीले गर्दा यसको फरक स्वाद हुन्छ । त्यसैले बजारमा मुस्ताङी आलु भन्नेबित्तिकै मानिसको जिब्रो रसाउँछ । नेपालका धेरै जिल्लामा आलु फल्छ, तर हिमालपारिको जिल्ला मुस्ताङको आलु छुट्टै स्वादका कारण चर्चित छ । आममानिसले रुचाएका छन् । होटल, रेस्टुराँ र तरकारी बजारमा पुग्नेबित्तिकै ग्राहकले सोधिहाल्छन्, मुस्ताङको आलु छ ? अहिले मुस्ताङको आलु सामान्य होटेलदेखि तारे होटेसम्मको मेनुमा समावेश हुने गरेको छ । आलुले अनेक यात्रा पार गरेर हिमालको काखबाट उपभोक्ताको भान्सासम्म पुग्छ ।
५० वर्षको यात्रा
धौलागिरि र निलगिरि दुई अग्ला हिमालको बिचमा रहेको मुस्ताङमा आलु, उवा, जौ, फापरजस्ता खाद्यवस्तु उत्पादन हुन्छन् । यी खाद्यवस्तुबारे धेरै नेपालीलाई जानकारी छ । त्यसमध्ये आलुले पाँचतारे होटेलसम्म प्रवेश पाउनु चानचुने कुरा होइन । यसले झरी, हिमताप, ठन्डीका बाबजुद आलु फलाउन किसानले अहोरात्र मिहिनेत गर्छन् ।
कुनै समय मुस्ताङीको खाजा, तरकारीमा मात्र सीमित आलु करिब ३० वर्षअघि काठमाडौंका होटलमा आइपुगेको होटेल व्यवसायी अन्जु गौचन बताउँछिन् । होटेलमा एकपटक मुस्ताङ आलुको स्वाद चाखेका ग्राहकले फेरि उही आलु माग गर्न थाले । करिब दुई दशकदेखि त्रिपुरेश्वरस्थित थकाली भान्साघरको भान्सा सम्हालिरहेकी अन्जु गौचनका अनुसार चिसो ठाउँको खाना र बनाउने तरिका पनि फरक भएकाले आलु धेरैको रोजाइ बन्यो । ‘आलु धोएर खुर्काउने, थोरै घिउ राखेर एक सिट्ठी लगाएपछि खानका लागि उपयुक्त हुन्छ । आलुसँग टिमुर र लसुनको छोप खाँदा अझै धेरै मिठो हुन्छ,’ अन्जुले भनिन्, ‘अहिले त्यही तरिकाले एक सिट्ठी लगाइएको आलुलाई लसुन, टिमुर र खुर्सानी राखेर फ्राई गरिन्छ । तैपनि, मुस्ताङ आलुको स्वाद अरू आलुको भन्दा फरक हुने भएकाले माग बढेको छ ।’ उनका अनुसार आफ्नो भान्साघरमा पनि धेरै ग्राहकको पहिलो रोजाइ थकाली खानापछि मुस्ताङ आलु नै हुने गरेको छ । ‘कहिलेकाहीँ अरू आलु नै मुस्ताङ आलुजस्तै बनाएर उपलब्ध गराउँछौँ । हामीले उक्त कुरा ग्राहकलाई जानकारी गराउँछौँ । कतिपय ठाउँमा मुस्ताङ आलु भनेर अरू ठाउँको आलु बनाएर बिक्री गरिएकोसमेत सुनिन्छ । यो राम्रो होइन,’ उनले भनिन् ।
थकाली भान्साघरका सचिव टिकप्रसाद गौचन कुनै वेला मुस्ताङीको खाजाका रूपमा मात्र सीमित आलु नेपालभर नै परिचित हुनुको कारण यसको स्वाद प्रमुख भएको बताउँछन् । ‘अन्तको आलु तीन महिनामै तयार भएर बजार पुग्छ । मुस्ताङको आलुलाई बजार पुग्न कम्तीमा ६ महिना लाग्छ । चिसो ठाउँमा उत्पादन भएको कारण यसको फरक स्वाद हुन्छ । त्यसैले धान्न गाह्रो हुने गरी माग बढेको हो,’ सचिव गौचनले भने । उनी मुस्ताङको आलु ब्रान्डमा परिणत भएसँगै आलु उत्पादन गर्ने किसानले पनि सही मूल्य पाउनुपर्ने बताउँछन् ।
थकाली सेवा समिति काठमाडौंका सचिव विश्वकिरण गौचन मुस्ताङको आलु थकालीहरूको भट्टीसँगै सुरुवात भएको मत गर्छन् । थकाली समुदायले हिउँदको समय पोखरा, बाग्लुङ, म्याग्दीमा अस्थायी व्यवसायको रूपमा भट्टी चलाउने क्रममा आफ्नो भान्सामा जे पाक्थ्यो, त्यही भट्टीमा बिक्री गर्न थाले । सोही क्रममा उनीहरूले खाजाका रूपमा दैनिक प्रयोग गर्ने आलु पनि बिक्री गर्न थाले । बिस्तारै आलु काठमाडौंसम्म फैलियो । यसको स्वादका कारण तारे होटेलसम्म स्थान पाउन थाल्यो ।
विश्वकिरणका अनुसार करिब ५० वर्षअघि यातायातको साधनका रूपमा खच्चड प्रयोग हुन्थ्यो । पोखराजस्ता सहरबाट चामल, चिनीलगायत सामग्री मुस्ताङ लगिन्थ्यो । मुस्ताङबाट खच्चड फर्काउने क्रममा रित्तै फर्कनुभन्दा आलु लिएर व्यापारी फर्कन्थे । अन्य खाद्यान्नको तुलनामा आलु सहज बिक्री हुने अवस्था हुन्थ्यो । सोही कारण खच्चड आलु लिएर फर्कन्थ्यो । सोही आलु विभिन्न ठाउँमा बिक्री हुन्थ्यो । ‘खच्चडमा स्याउ पनि ल्याउन सकिन्थ्यो । स्याउ पोखरासम्म पनि सही रूपमा पुग्न सक्दैनथ्यो । व्यवस्थित रूपमा लैजानका लागि थप महँगो पर्थ्यो । त्यसैले, व्यापारीले आलु नै रोजे,’ उनले भने ।
मुस्ताङ आलुलाई जसरी रुचाइएको छ, त्यसरी नै यसको उत्पादनमा समेत वृद्धि भइरहेको छ । मुस्ताङले गत वर्ष ६२ करोड ८२ लाख रुपैयाँबराबरको आलु उत्पादन गरेको थियो । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष मुस्ताङका पाँच स्थानीय तहको ४७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादन ०८१ को तुलनामा ११ करोड ८४ लाख ७५ हजार रुपैयाँले बढेको हो । उत्पादन बढेसँगै ६० रुपैयाँबाट बढेर ६५ रुपैयाँ केजी भएको छ ।
माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी आलु उत्पादन गर्ने किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्यांक संकलन गरी औसत उत्पादनको मापन गरिएको केन्द्रले जनाएको छ । मुस्ताङका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्लाबाहिर, ३० प्रतिशत जिल्लाभित्रै र १० प्रतिशत बिउ प्रयोजनका रूपमा खपत भएको पाइन्छ । घरायसी प्रयोजन र होटेल रेस्टुरेन्टमा एकतिहाइ आलु खपत हुने गरेको छ । जिल्लामा स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको केन्द्रले जनाएको छ ।