- निर्देशक अविनाशविक्रम शाहले विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेर नेपाली सिनेमा इतिहासमा नयाँ उचाइ थपेका छन्
सन् २०२६, मे २२ को साँझ । कान्स फिल्म फेस्टिभलको भव्य समापन समारोह । संसारभरबाट आएका सयौँ दर्शक, फिल्मकर्मी र समीक्षकहरूको बाक्लो उपस्थितिले हल भरिएको थियो । त्यहीबिच फिल्म ‘इलिफेन्ट इन द फग’ ले प्रतिष्ठित ‘जुरी प्राइज’ जितेको घोषणा गरियो । एउटा नाम उच्चारण भयो– अविनाशविक्रम शाह । हल उत्साहित भयो । ताली गुन्जियो । फिल्मकी मुख्य कलाकार पुष्पा लामाले मञ्चमा अविनाशको गलामा नेपाली झन्डा ओढाइदिइन् । त्यो दृश्यले हलमा उपस्थित धेरै दर्शक भावुक बने । मञ्चमा कलाकारहरूको समूह खुसीमा नाचिरहेका थिए । कसैले ताली बजाइरहेका थिए, कसैले गीत गुनगुनाइरहेका थिए । त्यो क्षण केवल एउटा फिल्मको जित मात्रै थिएन, नेपाली सिनेमाले विश्वमञ्चमा बनाएको नयाँ इतिहासको उत्सव पनि थियो ।
रेड कार्पेटमा अदृश्यहरूको कथा
अवार्ड ग्रहण गर्न मञ्चमा पुगेका अविनाश भावुक देखिन्थे । उनले भने– ‘यति लामो समयदेखि पिरती, उनका छोरीहरू र पूर्वका एउटा सम्पूर्ण समुदायलाई अदृश्य बनाइएको थियो । हामीले यो कथा यहाँ ल्याएर यो सम्मानमार्फत ती किनारामा पारिएका मानिसहरूमाथि प्रकाश हाल्ने प्रयास गरेका छौँ । अर्थात् हामीले अदृश्यलाई दृश्यमान बनाएका छौँ ।’
फिल्मले केवल अवार्ड मात्रै जितेन, ओझेलमा परेका कथालाई विश्वसामु उजागर गर्यो । त्यससँगै नेपाली सिनेमाको इतिहासमा नयाँ अध्याय लेखियो । यो फिल्मले ‘साउन्ड’मा अर्को अवार्ड पनि जित्यो । कान्सजस्तो विश्वकै प्रतिष्ठित मञ्चमा अवार्ड जित्नु नेपाली चलचित्र उद्योगका लागि अभूतपूर्व क्षण बन्यो । ‘एलिफेन्ट्स इन द फग’ ले केवल अवार्ड मात्र जितेन, विश्व फिल्म वृत्तमा नेपाली कथाको उपस्थिति र सम्भावनालाई पनि बलियो रूपमा स्थापित गर्यो ।
त्यो क्षण कान्सको मञ्चमा केवल एउटा अवार्ड घोषणा भएको पल थिएन, वर्षौँको संघर्षले उत्सव मनाएको क्षण थियो । खुसीको त्यो लहर अझै अविनाशको मस्तिष्कमा ताजै छ ।
कान्सको रेड कार्पेटमा आफ्नो टिमसँग उभिँदा उनीभित्र अनेक भावना एकसाथ आइरहेका थिए । चम्किला बत्ती, विश्वभरका चर्चित अनुहार र ग्ल्यामरले भरिएको त्यो वातावरणबिच उनी भने बारम्बार आफूले बनाएको फिल्मतर्फ फर्किरहेका थिए । ‘त्यहाँ संसारका ग्ल्यामरस मानिस थिए । हामी भने भुइँमान्छेको कथा बोकेर पुगेका थियौँ,’ उनी सम्झिन्छन् ‘रेड कार्पेटमा कलाकारहरू हिँडिरहँदा मनमा एउटै कुरा खेलिरहेको थियो–किनारामा पारिएकाको संघर्षको कथा पनि विश्वमञ्चसम्म पुग्न सक्ने रहेछ ।’
अविनाशले बनाएको फिल्म कुनै विलासी संसारको कथा थिएन । किनारामा पारिएका, कम सुनिएका र कम देखिएका मानिसहरूको कथा थियो । त्यही फिल्मले कान्समा दुई महत्वपूर्ण अवार्ड जित्यो । ‘जुरी प्राइज’सँगै साउन्ड विधामा समेत फिल्म पुरस्कृत भयो । उनका लागि त्यो केवल अवार्ड थिएन, आफूले भन्न खोजेको कथा संसारले सुनेको क्षण थियो ।
तर, सबैभन्दा भावुक क्षण अवार्डभन्दा अघि आएको थियो– फिल्मको प्रिमियरमा । फिल्मले ७ मिनेटसम्म स्ट्यान्डिङ अभिएसन पायो । अविनाश कलाकारहरूलाई बारम्बार नरुनु भनिरहेका थिए । तर, आफू भने आँखाभरि आँसु बनाइरहेका थिए । ‘मिहिनेत र दुःख सबै एकैचोटि सम्झिएँ, उनी भन्छन् ‘हल तालीले गुन्जिरहेको थियो, हामी सबै भावुक भयौँ ।’
कान्सको रेड कार्पेटमा आफ्ना कलाकारहरूलाई हिँडिरहेको देख्दा अविनाशको मनमा अनौठो खुसी छायो । विशेष गरी ट्रान्स समुदायको जीवन र संघर्षलाई फिल्मले विश्वसामु पुर्यायो ।
नेपाली सिनेमामा लामो समयदेखि ‘स्टार’को वरिपरि घुमिरहेको छ । अभिनाश नाम कहलिएका स्टार, करोडौँको प्रचार वा मूलधारले निर्माण गरेको ‘स्टारडम’को भरमा कान्स पुगेका थिएनन् । उनले बोकेर लगेका थिए नेपाली समाजको किनारामा धकेलिएका समुदायका कथा, ती आवाज जसलाई मूलधारले सधैँ बेवास्ता गर्यो ।
अविनाशले त्यो स्थापित मान्यतालाई विश्वकै ठुलो मञ्चमा पुगेर प्रमाणित गरे । यसले नेपाली मूलधार भनिने सिनेमालाई एउटा गम्भीर प्रश्न पनि गरेको छ– आखिर विश्वले कस्तो कथा सुन्न चाहन्छ ? चम्किला पोस्टर र स्टारको भिड कि समाजको गहिराइबाट निस्किएको साँचो कथा ?
त्यो उपलब्धि केवल व्यक्तिगत थिएन । अविनाश त्यसलाई नेपाली सिनेमाको इतिहासमा नयाँ अध्यायका रूपमा हेर्छन् । ‘नेपालको नाम त्यहाँ सधैँका लागि लेखियो,’ उनी भन्छन् ।
पात्रभित्रको संसारमा पुग्दा...
अविनाशलाई पारलैंगिक महिलाहरूको जीवनको भोगाइले तानिरहेको थियो । समाजको किनारामा राखिएका ती जीवनमा उनले केवल पीडा मात्र देखेनन्, गहिरो मानवीय सम्बन्ध, अपनत्व र संघर्षको अर्को संसार पनि देखेका थिए । उनले पारलैंगिक समुदायको जीवनबारे अनुसन्धान सुरु गरे । सुरुमा त्यो कथा फिचर फिल्म बन्छ कि सर्ट फिल्म, उनलाई थाहा थिएन । तर, उनी बिस्तारै पात्र र उनीहरूको संसारभित्र पस्दै गए । विशेष गरी, आमा–छोरीबिचको सम्बन्धले उनलाई धेरै छोयो । त्यो सम्बन्धको भावनात्मक तह, आपसी सहारा र समुदायभित्र बन्ने पारिवारिक संरचनाले उनलाई गहिरोसँग आकर्षित गर्यो ।
अनुसन्धानका क्रममा उनले अर्को यथार्थ भेटे– परिवार र समाजबाट बहिष्कृत पारलैंगिक महिलाहरू आफ्नै समुदाय बनाएर बाँच्छन् । आमाछोरीको सम्बन्धजस्तै आत्मीय बन्धनमा उनीहरू नयाँ संसार निर्माण गर्छन् । यही सम्बन्धले उनलाई गहिरोसँग छोयो ।
त्यसपछि उनले लामो अध्ययन–अनुसन्धान सुरु गरे । समुदायसँग समय बिताए, उनीहरूको अनुभव सुने, जीवनशैली बुझ्ने प्रयास गरे । त्यो प्रक्रिया छोटो थिएन । वर्षौँसम्म उनले ती पात्रहरूको मनोविज्ञान, दुःख, आत्मीयता र संघर्षलाई बुझ्न समय लगाए ।
लेखन यात्रापछि त्यो अनुभूति कथामा रूपान्तरण गर्न उनलाई पाँच वर्ष लाग्यो । उनले समाजको गहिरो र संवेदनशील विषयलाई कथामा उतार्ने आँट गरे । ‘बाहिरबाट हेरेर होइन, भित्रैबाट बुझ्ने प्रयास गरेँ,’ उनी भन्छन् । कुनै पनि पात्रलाई ‘अथेन्टिक’ रूपमा प्रस्तुत गर्न निरन्तर सचेत थिएँ,’ उनी भन्छन्, ‘कथा लेखेपछि विभिन्न फिल्म ल्याब पुगेँ । सन्डान्स, ग्लोबल मिडिया मेकर्सजस्ता ल्याबमा थिएँ । उनीहरूबाट युनिभर्सल कथा बनाउन सहयोग भयो । यो आफैँमा लोकल सब्जेक्ट हो ।’
अनिनाशका अनुसार फिल्म केवल व्यक्तिगत कथा होइन, समाजले कसरी केही मानिसलाई ‘हामी’ र ‘तिनीहरू’ भनेर विभाजन गर्छ भन्ने प्रश्न पनि हो । उनी भन्छन्,‘समाजको नियमभित्र रहे ‘हामी’ हुन्छौँ, तर नियमभन्दा अलिकति फरक हुँदा ‘तिनीहरू’ बनाइन्छ । यही विभाजन र दृष्टिकोणमाथि फिल्मले प्रश्न उठाउँछ । जसलाई आमाछोरीको सम्बन्धले अझ भावनात्मक र आत्मीय बनाएको छ ।’
अविनाशलाई लाग्छ, पारलैंगिक समुदायभित्रको आमाछोरी सम्बन्ध आफैँमा निकै संवेदनशील र गहिरो विषय हो । तर, निर्माण यात्राभरि उनीभित्र एउटा प्रश्न निरन्तर थियो– के म आफ्नै प्रिभिलेजबाट उनीहरूको कथा हेरिरहेको त छैन ? त्यसैले उनले कथाबाहिरबाट होइन, भित्रै प्रवेश गरेर बुझ्ने प्रयास गरे ।
पात्रलाई अभिनय गर्नेभन्दा पहिले बाँच्न सिकाउने प्रयास गरेँ । उनका लागि त्यो केवल फिल्म निर्माणको प्रक्रिया थिएन, एउटा समुदायको अनुभवलाई इमानदार ढंगले पर्दामा उतार्ने जिम्मेवारी पनि थियो ।
००० ०००
अविनाशले फिल्म कलेजमा गएर सिनेमा सिकेनन् । औपचारिक शिक्षाभन्दा बढी उनले स्वाध्यायनलाई आधार बनाए । फिल्म हेर्दै, पढ्दै र काम गर्दै उनले आफूलाई बिस्तारै सिनेमाको संसारमा घुमाए । तर, उनका लागि फिल्म क्षेत्रमा होमिनु सजिलो थिएन । स्कुल पढ्दै बुबा गुमाउनु पर्यो । त्यसपछि जेठो छोरा भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थपियो ।
भाइबहिनीको पढाइ, आफ्नै कलेज र घरखर्च जुटाउन मुस्किल थियो । त्यसैले उनी कलेज पढ्दै काम गर्न थाले । पढाइसकेपछि केही समय नेपाल पर्यटन बोर्डमा जागिरे भए । त्यहीँ विदेशी फिल्मकर्मीसँगको भेटघाटले उनको ध्यान सिनेमातिर मोडियो । उनीभित्र फिल्मप्रतिको मोह झन् गहिरियो । अन्ततः उनले जागिर छाड्ने निर्णय गरे । उनले निर्देशक नवीन सुब्बा, छिरिङरितार शेर्पा, केसाङ छेतेनहरूको नाम सुनेका थिए ।
सन् २००९ तिर कुरा हो । त्यसवेला उनले निर्देशक नवीन सुब्बाको फिल्म ‘गुडबाई काठमान्डु’मा सहायक निर्देशकका रूपमा काम गर्ने अवसर पाए । त्यो अवसर उनका लागि केवल एउटा काम थिएन, सिनेमालाई नजिकबाट बुझ्ने पाठशाला बन्यो । उनी सानैदेखि सिनेमा मन पराउँथे । तर, त्यो संसारमा प्रवेश गर्ने बाटो भने अझै प्रस्ट भइसकेको थिएन । संगत बढ्दै गयो । नवीन सुब्बाको संगतले अभिनाशको सिनेमाप्रतिको दृष्टिकोण फराकिलो बन्यो । ‘त्यसवेला नवीन दाइसँग काम गर्न पाउनु नै ठुलो कुरा थियो,’ उनी सम्झिन्छन्, ‘तर सिनेमाको निर्माण प्रक्रियाको पर्याप्त ज्ञान थिएन । ‘गुडबाई काठमान्डु’मा काम गरेपछि फिल्म निर्माणको गहिराइ बुझेँ । म काँचो माटोजस्तै थिएँ । नवीनदाइले त्यसलाई आकार दिनुभयो ।’
त्यसपछि फिल्म निर्माणमा कथाको तह, पात्रको मनोविज्ञान र सिनेमाको भाषाबारे उनको सोच फराकिलो हुँदै गयो । ‘नवीनदाइसँग कलाकारसँग काम गर्ने प्रक्रिया र स्क्रिप्ट विश्लेषण गर्ने तरिका पनि सिकेँ । पात्रको भित्री संसार कसरी बुझ्ने, दृश्यको भाव कसरी निर्माण गर्ने र निर्देशकले कलाकारसँग कसरी काम गर्नुपर्छ भन्ने धेरै कुरा सिकेँ,’ उनी सम्झिन्छन् ।
फिल्म ‘एलिफेन्ट्स इन द फग’ बनाउँदा पनि स्क्रिप्ट विश्लेषणको त्यही अभ्यासलाई पछ्याएँ । ‘त्यो सिकाइको जग नवीन सुब्बासँग काम गर्दाको अनुभव थियो । गुडबाई काठमान्डु’पछि मेरो आँखा खुल्यो’ उनी भन्छन् ।
फिल्म बनाउन नसक्दा डिप्रेसन
त्यसपछि पनि अविनाशको सिनेमा यात्रा सहज भएन । उनले फिचर फिल्म ‘हाइवे’ लेखे । त्यसअघि हाम्रो टिमले टेलिभिजन सिरिज पनि लेखेका थिए । तर, त्यो कामले उनलाई पूर्ण सन्तुष्टि दिन सकेन । त्यतिवेला उनी आफैँ ठुलो अन्योलमा थिए । निर्देशक, लेखक वा कलाकार– कुन विधामा आफूलाई खोज्ने भन्ने स्पष्टता थिएन । तर, बिस्तारै उनले महसुस गरे, आफू धेरै बोल्ने मानिस होइन र अभिनय आफ्नो क्षेत्र पनि होइन ।
यद्यपि, उनले छोटा फिल्म बनाउने क्रम भने रोकेनन् । उनका सर्ट फिल्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्न थालेका थिए । त्यसमध्ये ‘तटिनी’ नामक छोटो फिल्म बुसानमा वर्ल्ड प्रिमियर भएको थियो । अन्य थुप्रै फेस्टिभलमा पनि फिल्म प्रदर्शन भयो र प्रशंसासमेत पायो । तर, अविनाश आफैँ भने सन्तुष्ट थिएनन् । ‘त्यसमा धेरै लगानी र मिहिनेत गरेको थिएँ, तर मैले खोजेजस्तो परिणाम देखिरहेको थिइनँ’, उनी सम्झिन्छन् । बिस्तारै उनको मनमा फिल्म निर्देशन छोड्ने सोच आयो । आफू केवल लेखनमै सीमित हुने कि भन्ने अन्तरद्वन्द्वमा उनी पुगे ।
त्यतिवेला फिचर चलचित्र ‘कालो पोथी’ लेखिसकेका थिए । ‘हाइवे’ र कालो पोथी बर्लिन, भेनिसजस्ता प्रतिष्ठित महोत्सवसम्म पुगे । यी फिल्महरूले अन्तर्राष्ट्रिय प्रतिष्ठा पाइसकेका थिए । तर, उनी आफ्नै स्क्रिप्ट लेखाइप्रति सन्तुष्ट थिएनन् । ‘मेरो मुख्य शक्ति लेखाइ हो भन्ने लाग्थ्यो । तर, त्यो वेला लेखाइ पनि मैले खोजेजस्तो भइरहेको थिएन,’ उनी भन्छन् ।
तर, त्यो समय उनको जीवनमा ठुलो जँघार आयो । उनीभित्र निरन्तर संघर्ष चलिरहेको थियो । फिल्म नै आफ्नो अभिव्यक्तिको माध्यम भएको उनी मान्थे । आफूले लेखेर र सिनेमामार्फत नै आफ्नो कुरा व्यक्त गर्न सक्ने विश्वास थियो । तर, जीवनमा एउटा यस्तो मोड पनि आयो, जहाँ उनलाई फिल्म क्षेत्र नै छोडेर गुमनाम हुन मन लाग्न थाल्यो ।
फिल्म बनाउने सपना थियो, तर, लगानी थिएन । आर्थिक रूपमा कुनै स्थायित्व भएन । परिवारको दबाब बढिरहेको थियो । परिवारका सदस्यहरू अस्ट्रेलियामा थिए र उनीमाथि ‘पैसा कमाउन नसकेको’ गुनासो आउँथ्यो । रातभर जागेर लेख्ने, काम गर्ने, तर परिणाम भने चित्त बुझ्दो थिएन ।
त्यहीबिच उनी ‘लोरी’ नामक छोटो फिल्म बनाइरहेका थिए । हङकङको एउटा कम्पनीले त्यसमा लगानी गर्ने सहमति दिएको थियो । सुरुमा ३५ मिनेटको फिल्म बनाउने योजना थियो । उनले ३५ मिनेटको फिल्म तयार गरे । तर, उक्त कम्पनी अचानक बन्द भयो । फिल्म लामो समय अड्कियो । ‘तटिनी’पछि एउटा राम्रो फिल्म बनाएर नयाँ आशा पलाएको थियो । तर ‘लोरी’ अड्किएपछि उनी साह्रै निराश भए । ‘त्यो समय डिप्रेसनमै गएको थिएँ । मेरा लागि निकै सकसपूर्ण समय थियो’, उनी भन्छन् ।
तर, उनले सर्ट फिल्म ‘लोरी’लाई पूर्णता दिने आँट गरे । फिल्मलाई आफैँले सम्पादन गरे । निर्माताले कान्स फिल्म फेस्टिभलमा पठाउने निर्णय गरे । त्यतिवेला उनले मनमनै फिल्म क्षेत्र छोड्ने लगभग निर्णय गरिसकेका थिए । निर्देशक मीन भामको ‘शाम्बाला’ लेखेपछि फिल्मबाट टाढिने सोचसमेत बनाएका थिए ।
तर, त्यही ‘लोरी’ले उनको जीवनको मोड बदलिदियो । फिल्म अप्रत्याशित रूपमा सफल भयो । त्यसवेला उनी अमेरिकामा थिए । कान्समा फिल्म छनोट भएको खबर पाउँदा उनी अचम्मित भए । ‘त्यो खबर आकाशबाट कसैले बोलाएजस्तो लाग्यो,’ उनी सम्झिन्छन्, ‘लोरी’ कान्समा छनोट नभएको भए, साँच्चिकै फिल्म क्षेत्र छोडिसक्थेँ । लोरीले गुमेको ऊर्जा फेरि जगाइदियो ।’
त्यसअघि उनले फिचर फिल्म ‘झ्यालिच्चा’ लेखे । ‘एलिफेन्ट्स इन द फग’को स्क्रिप्टमा पनि काम गरिरहेका थिए । तर, त्यो फिल्म कसरी बनाउने भन्ने अन्योल अझै बाँकी थियो । ‘लोरी’ले अवार्ड जितेपछि भने नयाँ ढोका खुल्न थाले । ‘इलिफेन्ट इन द फग’को स्क्रिप्ट तयार भयो । त्यसपछि लगानी जुटाउन लागे । नेपाल, जर्मनी र फ्रान्सका निर्माता जोडिए । स्क्रिप्ट विभिन्न अन्तर्राष्ट्रिय ल्याबसम्म पुग्यो । तर यसको स्क्रिप्ट नेपाल चलचित्र विकास बोर्डको स्टोरी बैंकमा भने छनोट हुन सकेन । त्यो अस्वीकृतिले उनलाई झन् निराश बनाएको थियो ।
‘म निर्देशक होइन कि भन्ने प्रश्न आफैँलाई गरिरहन्थेँ,’ उनी भन्छन्, ‘तर ‘लोरी’पछि उत्तर पाएँ– म निर्देशन गर्न सक्नेरहेछु । लोरीले अवार्ड पाएपछि निभ्न लागेको बत्तीमा तेल थपेजस्तो भयो । कान्सले ऊर्जा दियो ।’ आज पछाडि फर्केर हेर्दा उनी त्यो समयलाई फरक ढंगले बुझ्छन् । ‘त्यो निराशाले नै मलाई तयार गरिरहेको रहेछ,’ उनी भन्छन्,‘जीवनका उकालो–ओरालो, असफलता र आत्मसंघर्षले नै दृष्टि फराकिलो बनायो ।’
अविनाशको बुझाइमा, आजको समयमा फिल्म राम्रो हुनु मात्रै पर्याप्त हुँदैन । फिल्मले के भनिरहेको छ, त्यो अझ महत्वपूर्ण हुन्छ । धेरै फिल्म प्राविधिक रूपमा उत्कृष्ट बन्छन्, तर सबैले समयको गहिरो प्रश्न उठाउन सक्दैनन् । उनी भन्छन्, ‘फिल्मले दर्शकलाई अन्तिमसम्म बाँधिराख्नुपर्छ । तर, त्यससँगै यसले अहिलेको समाज र समयलाई कति अर्थपूर्ण ढंगले बोलिरहेको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सायद, ‘एलिफेन्ट्स इन द फग’ले यही दुई कुरा एकैसाथ बोकेको थियो ।’
तर, उनी फेस्टिभल यात्रालाई अन्तिम लक्ष्य मान्दैनन् । उनका लागि यो केवल यात्राको एउटा चरण हो । ‘फेस्टिभलको ट्याग महत्वपूर्ण हो,’ उनी भन्छन्, ‘तर फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्नु अझ महत्वपूर्ण कुरा हो ।’
संसारभर नयाँ ढंगले कथा भनिइरहेको वेला नेपाली फिल्म पनि समयसँगै बदलिनुपर्ने उनको धारणा छ । उनी नयाँ पुस्ताका फिल्ममेकरलाई आफ्नै अनुभव र समाजबाट कथा खोज्न आग्रह गर्छन् । उनका अनुसार नेपाली सिनेमाको सबैभन्दा ठुलो शक्ति नै यसको मौलिकता हो । उनी भन्छन्,‘हामीले आफ्नै कथा भन्नुपर्छ । किनकि यहाँको कथा हामीले नभने अरू कसैले भन्ने छैन ।’