सरकारले आगामी तीन वर्षभित्र देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत अस्पताल निर्माणका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
बजेट वक्तव्यअनुसार मानव विकास सूचकांक कमजोर रहेका प्रत्येक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिनेछ। साथै, निर्माण सुरु नभएका अस्पतालका लागि वैज्ञानिक नक्सांकनपछि मात्रै निर्माण प्रक्रिया अघि बढाइने सरकारको योजना छ।
सरकारले संघीय विशिष्टीकृत अस्पतालहरूमा जलन उपचार सेवा विस्तार गर्ने नीति पनि लिएको छ। यसअन्तर्गत जलनका बिरामीको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर स्थापना गरिने भएको छ। बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने घोषणा पनि बजेटमा समेटिएको छ।
नागरिकस्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय रूपमा परिचित धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिने बजेटमा उल्लेख छ। साथै, महामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्ने व्यवस्था गरिने भएको छ।