कपिलवस्तुका ३५ सयभन्दा बढी परिवारलाई पोषण सहयोग

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

इद उल अजहा (बकरा इद)को अवसरमा कपिलवस्तुका चार स्थानीय तहका तीन हजार पाँच सयभन्दा बढी विपन्न परिवारलाई पोषण तथा खाद्य सहयोगअन्तर्गत खसी र राँगाको मासु वितरण गरिएको छ।

इस्लामिक रिलिफ वर्ल्ड वाइडको आर्थिक सहयोग तथा लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल)को आयोजनामा तीन हजार पाँच सय ६४ परिवारलाई लक्षित गरी मासु वितरण गरिएको हो।

मायादेवी गाउँपालिका– २ अभिरावमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, वडाध्यक्ष महम्मद हुसेन मुसलमान, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासे, कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डेय, लिडो नेपालका कोषाध्यक्ष अतिकुर रहमान तथा कार्यकारी निर्देशक सुनिता बेल्वासेलगायतले मासु वितरण गरेका थिए।

कार्यक्रमको अनुगमन लिडो नेपालका अध्यक्ष अतहर कमाल र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले गरेका थिए।

कार्यक्रमअन्तर्गत वाणगंगा नगरपालिका– ११ वनकटवा, कपिलवस्तु नगरपालिका–११ रेहरा, मायादेवी गाउँपालिका– २ अभिराव र ४ पिपरा तथा शुद्धोधन गाउँपालिका– १ पतरियाका एक हजार ८४८ परिवारलाई प्रतिपरिवार दुई केजी खसीको मासु तथा एक हजार ७१६ परिवारलाई प्रतिपरिवार पाँच केजी राँगाको मासु वितरण गरिएको हो।

लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्वासेले बकरा इदको अवसरमा पोषणबाट वञ्चित समुदायको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनका अनुसार गरिब तथा विपन्न परिवार, प्रकोप प्रभावित, गर्भवती महिला भएका परिवार, बालबालिका भएका घरपरिवार, एकल महिला, दीर्घरोगी तथा विभिन्न संक्रामक रोगबाट प्रभावित परिवारलाई प्राथमिकतामा राखेर लाभग्राही छनोट गरिएको हो।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले गरिबीको रेखामुनि रहेका समुदायलाई लक्षित गरी गुणस्तरीय मापदण्डअनुसार पोषण सुधारका लागि गरिएको मासु वितरण कार्यक्रम प्रशंसनीय रहेको बताए। उनले वास्तविक लाभग्राही छनोट गरी सम्बन्धित स्थानमै पुगेर पारदर्शी ढंगले सहयोग हस्तान्तरण गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरे।

कार्यक्रमअन्तर्गत पहिलो दिन खसीको मासु तथा दोस्रो दिन राँगाको मासु वितरण गरिएको लिडो नेपालले जनाएको छ।

सुझावित समाचार