९० प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराइने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । सरकारले सवा २१ खर्बको बजेट ल्याउँदा शिक्षा र स्वास्थ्यमा तीन खर्ब २० अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड र स्वास्थ्यतर्फ एक खर्ब एक अर्ब ९५ करोड बजेट वियोजन भएको सदनलाई जानकारी दिएका हुन् । सरकारले शिक्षामा चालू आवभन्दा सात अर्ब ३० करोड र स्वास्थ्यमा ६ अर्ब १६ करोड बजेट वृद्धि गरेको हो । 

सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङ गर्न एक अर्ब छुट्याइएको छ । गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चार विधाको पठनपाठन सञ्चालन गरिने भएको छ । त्यस्तै, विद्यालय तहको छात्रवृत्तिका लागि आठ अर्ब ६० करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा त्रिपुरेश्वरमा गुठी रिसर्च प्रतिष्ठान सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

विदेशमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि प्रदान गरिने भएको छ । अनलाइनमार्फत फाराम भर्ने र परीक्षा लिन प्रबन्ध मिलाइने अर्थमन्त्रीले घोषणा गरे । चेपाङलगायत लोपोन्मुख जातिलाई आवासीय विद्यालयको व्यवस्था गरिने भएको छ । त्यस्तै, आगामी आर्थिक वर्षमा सबै विश्वविद्यालयलाई वित्तीय स्वायत्तता प्रदान गरिने भएको छ ।

सुझावित समाचार