चलचित्र ‘सेप अफ मोमो’ (छोराजस्तै) प्रदर्शनमा आएको छ। सिक्किमकी निर्देशक त्रिवेणी राईको डेब्यू फिचर चलचित्र शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको हो।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा बुधबार प्रिमियर गरिएको थियो। किम्फमा प्रदर्शनपछि यो चलचित्रले दर्शकबाट निकै प्रशंसा पाएको थियो।
सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा बनाइएको चलचित्रले एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत, संघर्ष र पहिचानको कथा प्रस्तुत गर्छ। चलचित्रमा भानुमाया राई (हाल स्वर्गीय), गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय छ।
चलचित्रमा पायल कपाडिया, जोया अख्तर र रिमा काग्ती कार्यकारी निर्माताको रूपमा रहेका छन्। चलचित्रले बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड पाएको थियो। सन् सेबेस्टियन अन्तर्राष्ट्रिय फिल्म महोत्सवलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ। महोत्सवहरूमा फिल्मले प्रशंसासँगै पुरस्कार पनि पाइसकेको छ।
‘सेप अफ मोमो’ जुन २५ मा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन हुँदै छ। निर्देशन राईले किस्ले राईसँग मिलेर चलचित्रको पटकथा लेखेकी हुन्। चलचित्रको छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छिन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन्। ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ।