नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सी वितरण गरेको हो । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले सो सहयोग गरिएको बताइएको छ ।
कार्यक्रममा एसबिआईका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार भण्डारी, सञ्चालन प्रमुख केदारप्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीनारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एसबिआई मर्चेन्टका सिइओ भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा एसबिआई मर्चेन्टले विगतदेखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले विद्यालय तथा विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति एसबिआई मर्चेन्टलाई धन्यवाद दिए । यस्ता सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र प्रेरणा प्राप्त हुने विश्वास उनको थियो । राष्ट्रिय माध्यमिक विद्यालयमा दुई सय ६५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।