राष्ट्रपति रामचन्द्र पौडेलले हामीहरूको सबैभन्दा ठुलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन्। शुक्रबार गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित सरकारको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शासकीय संरचना र राज्यका अंगहरूलाई गतिशील र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक गणतन्त्रका सुन्दर सपना बोकेका नागरिकलाई बेथितिहरूले निराशा नबनाओस् भनेर चिन्ता गर्नुपर्ने उल्लेख गरे। जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्दैन तबसम्म रगत र पसिनासँग साटेको लक्ष्य पूरा हुँदैन भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकले सुशासनसहितको समृद्धि खोजेका बताए ।
यसका लागि सरकारले स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै कृषि, पर्यटन, ऊर्जालगायत औद्याेगिक र सेवा क्षेत्रलाई बलियाे बनाउन सक्नेतर्फ इंकित गरे। आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्नु नै आजको ऐतिहासिक अभिभारा भएको उनकाे भनाइ छ।