१५ वर्षीय बायाँहाते ब्याट्सम्यान वैभव सूर्यवंशीले १०औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा कीर्तिमानको ओइरो लगाएका छन् । उनले आइपिएलको एलिमिनेटर खेलमा थुप्रै रेकर्ड आफ्नो नाममा लेखाए । यस खेलमा उनले २९ बलमा ९७ रनको आक्रामक इनिङ्स खेलेका थिए । उनी शतकीय इनिङ्स खेल्न ३ रनले चुके । आइपिएलमा क्रिस गेलले ३० बलमा शतकको रेकर्ड राखेका छन् । गेलको यो रेकर्ड ब्रेकनजिक पुगे पनि उनी सफल भएनन् । हैदराबादविरुद्धको सो खेलमा राजस्थानले रोयल्सले ४७ रनको जित निकालेको थियो ।
एकै सिजनमा ६५ छक्का
आइपिएलमा वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान गेलले २०१२ को सिजनमा सर्वाधिक ५९ छक्का प्रहार गरेका थिए । यो रेकर्ड वैभवले तोडेका छन् । वैभवले चालू सिजनमा सर्वाधिक ६५ छक्का प्रहार गरी नयाँ रेकर्ड स्थापित गरे । गेलले ५९ छक्का प्रहार गर्न ४५६ बल प्रयोग गर्दा वैभवले २६६ बल प्रयोग गरे । समग्रमा टी–२० फ्रेन्चाइज लिगको एकै सिजनमा एक ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै छक्का आइपिएलको यसै सिजनमा हो ।
एकै खेलमा १२ छक्का
वैभवले हैदराबादविरुद्ध १२ छक्का प्रहार गरेका थिए । यो आइपिएलको एकै इनिङ्समा कुनै पनि भारतीय ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । यसमा वैभवले आफ्नै रेकर्ड बराबरी गरेका छन् । उनले चालू आइपिएलको पहिलो चरणमा हैदराबादविरुद्ध १२ छक्का प्रहार गरेका थिए । आइपिएलमा एकै खेलमा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान क्रिस गेल हुन् । उनले २०१३ मा पुने वारियर्सविरुद्ध सर्वाधिक १७ छक्का प्रहार गरेका छन् । यस खेलमा गेलले कीर्तिमानी १७५ रन बनाएका थिए । कोलकाता नाइट राइडर्सका ब्रान्डन म्याककुलमले बैंग्लोरविरुद्ध २००९ मा १३ छक्का हिर्काएका थिए । यस खेलमा ब्रान्डनले १५८ रन जोडेका थिए । वैभवले हैदराबादविरुद्ध २४ बलमा १० छक्काको रेकर्ड बनाए । यसअघि गेलले २७ बलमा १० छक्का प्रहार गरेका थिए ।
स्ट्राइक रेट र रन
वैभव चालू आइपिएलको १५ इनिङ्समा २४२.८५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । उनले अहिलेसम्म ६८० रन जोडेका छन् । टी–२० फर्म्याटमा दुई सयभन्दा बढीको स्ट्राइक रेट राखेर ६ सयभन्दा बढी रन बनाउने उनी विश्वकै पहिलो ब्याट्सम्यान हुन् । यसैगरी, उनले पावर प्लेमा मात्रै ४९० रन बनाएका छन् । यसअघि डेभिड वार्नरले २०१६ मा पावर प्लेमा ४६७ रन जोडेका थिए । वैभवले यस सिजन पाँचपटक पावर प्लेमै अर्धशतक पूरा गरेका छन् । यसैगरी, तीन सयभन्दा बढी स्ट्राइक रेटमा ९० भन्दा बढी रन बनाउने वैभव पहिलो ब्याट्सम्यान हुन् ।
प्लेअफमा सबैभन्दा छिटो अर्धशतक
वैभवले हैदराबादविरुद्ध १६ बलमा अर्धशतक पूरा गरेका थिए । यो आइपिएलको प्लेअफ खेलमा सबैभन्दा छिटो अर्धशतकीय इनिङ्स हो । वैभवले सुरेश रैनाको नकआउट चरणमा कम बलमा अर्धशतक बनाउने रेकर्ड बराबरी गरेका छन् । रैनाले २०१४ मा किंग्स इलाभेन पन्जाबविरुद्ध १६ बलमै अर्धशतक बनाएका थिए ।