काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना विद्यार्थी छनोट परीक्षार्थीमा सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ जना विद्यार्थीमध्ये दुई सय आठजनाको फारम अस्वीकृत भएको छ ।
महानगरका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि १७ जेठमा छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ । महानगरले ०८० देखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो ।
परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जिओभी डट एनपी’मा लग इन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसइईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । प्रवेशपत्र अनिवार्य रूपमा रंगिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याक एन्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेशपत्रलाई मान्यता दिइनेछैन ।
परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसइई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षासम्बन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ लिस्टबाट नाम सिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्दैन ।