रवीन्द्र ‘रोड टु युएफसी’को सेमिफाइनलमा

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण
  • रोड टु युएफसीअन्तर्गत नेपालका रवीन्द्र ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै अन्तिम चारको स्थान पक्का गरे 

नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट युएफसी छनोट प्रतियोगिताअन्तर्गत रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । रोड टु युएफसीअन्तर्गत बिहीबार भएको क्वार्टरफाइनलमा रवीन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै अन्तिम चार स्थान पक्का गरेका हुन् ।

उनले फाइनल प्रवेशका लाग न्युजिल्यान्डका कासिब मुर्डोचविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । कासिबले क्वार्टरफाइनलमा जापानका युनोसुकु मिनामीलाई हराउँदै रवीन्द्रसँगको सेमिफाइनल भेट पक्का गरेका थिए । दोस्रो सेमिफाइनल जापानका रायो तामिजा र भारतका चोनग्रेन कोइनबिच हुनेछ । कोरेनले क्वार्टरफाइनलमा रियुहो मियागाचीलाई पाखा लगाएका थिए । रवीन्द्रलाई समर्थन गर्न मकाउमा हजारौँ नेपाली समर्थक पुगेका थिए । ‘बझाङको बाघ’ भनेर चिनिने रवीन्द्र रोड टु युएफसी फाइट जित्ने पहिलो नेपाली फाइटरसमेत हुन् । 

गत वर्ष उनले भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा घरेलु खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए । ब्यान्टम वेट समूहमा प्रतिस्पर्धा गर्ने रवीन्द्र यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् । उनी पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरसमेत हुन् । 

प्रतिस्पर्धामा रवीन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए । व्यावसायिक एमएमएमा रवीन्द्रले अहिलेसम्म नौ फाइट जित्दा एक फाइट मात्र गुमाएका छन् । युएफसीसम्म पुग्न एसियाका शीर्ष फाइटरहरूले छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । हरेक तौल श्रेणीको विजेताले युएफसीसँग पूर्ण सम्झौता गर्नेछन् । 

सुझावित समाचार