एक सन्त निकै वृद्ध भइसकेका थिए । उनलाई आफ्नो अन्त्य निकट आइसकेको आभास भयो । त्यसैले, एक दिन आफ्ना शिष्यलाई नजिक बोलाए र भने– बाबुहरू हो, अब मेरो जीवनको अन्त्य नजिक आइपुगेजस्तो लाग्दै छ । मैले चारवटा अमूल्य रत्न आफूसित सुरक्षित राखेको छु । आज म तिनै रत्न तिमीहरूलाई दिँदै छु । तिनलाई तिमीहरूले पनि जिन्दगीभरि जोगाएर राख्नू । तिनै अमूल्य रत्नको सहायताबाट आफ्नो जिन्दगीलाई आनन्दमय र श्रेष्ठ बनाउनू ।
१. पहिलो रत्न हो– माफी । जीवनमा कसैले तिमीहरूलाई जेसुकै भनोस्, उसको भनाइलाई कहिल्यै आफ्नो मनमा नलिनू । उसका लागि कुनै प्रतिशोधको भावना मनमा आउन नदिनू । जसले जेसुकै गरोस् या भनोस्, उसलाई जहिल्यै माफ गर्नू । आफूले अरूलाई कहिल्यै नराम्रो नभन्नू, नगर्नू । केही गरी आफूबाट कुनै गल्ती भइहालेको अवस्थामा पनि विनम्रतापूर्वक माफी माग्न कहिल्यै नभुल्नू ।
२. दोस्रो अमूल्य रत्न हो– बिर्सिदिनु । आफूले अरूका लागि गरेको कुनै पनि उपकार तत्काल बिर्सिदिनू । कहिल्यै त्यसको कुनै प्रतिलाभको आशा गर्दै नगर्नू ।
३. तेस्रो अमूल्य रत्न हो– विश्वास । जहिल्यै आफ्नो मिहिनेत र ईश्वरप्रति अटुट विश्वास राख्नू । किनकि, परमेश्वरको सृष्टिको विधानविपरीत हामी कहिल्यै केही गर्न सक्दैनौँ । त्यसैले, आफ्नो मिहिनेत र भगवान्प्रतिको अटुट विश्वासले नै तिमीहरू हरेक संकटबाट मुक्त हुन सक्छौ ।
४. चौथो अमूल्य रत्न हो– वैराग्य । यस धर्तीमा जन्म लिएपछि एक न एक दिन अवश्यै मर्नुपर्छ र यो नै सृष्टिको अनिवार्य र अन्तिम सत्य हो भन्ने तथ्यलाई हरहमेसा मनमा राख्नू । त्यसैले, कुनै पनि वस्तुका लागि कहिल्यै मनमा लोभ, मोह नराख्नू । यी चार अनमोल रत्नलाई सम्हालेर आफूसित राख्न सफल भयौ भने तिमीहरूले कहिल्यै दुःखी बन्नुपर्दैन । जहिल्यै सुख र आनन्दको रसास्वादन गर्न पाउनेछौ ।