बसमा यात्रुको सुन लुट्ने चारजना पक्राउ

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

युवतीको घाँटीमा लगाएको सुनको सिक्री चुँडालेर लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जेठ १३ गते बेलुका कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसभित्रबाट युवतीको सिक्री लुटेको आरोपमा प्रहरी परिसर ललितपुर र मातहत प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशंखुपाखर– ७ घर भई काठमाडौं– ६, बौद्ध बस्ने २९ वर्षीय जनक तामाङ र काठमाडौं–१४, कलंकी बस्ने ३० वर्षीय साइमन भन्ने मनकुमार तामाङ, ललितपुरको कोन्ञ्जोसोम– ५ घर भई ललितपुर–२८ हरिसिद्धि बस्ने २५ वर्षीय उमेश मुक्तान र काभ्रेपलाञ्चोकको नमोबुद्ध– ७ घर भई ललितपुर– ३, हरिहर भवन बस्ने ३० वर्षीय अर्जुन तामाङ रहेका छन्।

सिक्री लुटिएको सुचनापछि खटिएको प्रहरी टोलीले सानेपास्थित रिङरोड सडक खण्डमा उक्त बस रोकी यात्रीहरूको खानतलासी गर्दा लुटिएको एक तोला ९ लालको सिक्रीसहित उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएको छ।

प्रहरी अभिलेखअनुसार उनीहरू यसअघि समेत चोरी मुद्दामा संलग्न रहेको खुलेको छ।

सुझावित समाचार