महिनावारी स्वच्छता दिवस, विद्यालयका किशोरीले गरे सचेतनामूलक कार्यक्रम

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

महिनावारीका वेला स्वच्छतामा ध्यान नदिँदा हुन सक्ने मानसिक, शारीरिक तथा स्वास्थ्यसम्बन्धी समस्याहरूबारे सजग गराउने उद्देश्यले सिराहाको लहानमा विद्यालयमा अध्ययनरत किशोरीहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गरेका छन्।

‘महिनावारीमैत्री संसारका लागि अघि बढौँ’ भन्ने नारासहित लहान नगरपालिकाको सभाहलमा बिहीबार आयोजित स्वच्छता दिवसमा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूले महिनावारी स्वच्छतासम्बन्धी सांस्कृतिक प्रस्तुतिसहित लघुनाटक, महिनावारी, स्वच्छतासम्बन्धी अनुभव, सिकाइ साटासाट गरे ।

स्वच्छता दिवसको उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले महिनावारी प्राकृतिक र निश्चित उमेरसम्म निरन्तर प्रक्रिया भएकाले सरसफाइमा विशेष ध्यान दिएमा पाठेघरमा हुने संक्रमणजन्य रोगहरूबाट बच्न सकिने उल्लेख गरे । 

‘सामुदायिक विद्यालयहरूमा पर्याप्त स्यानेटरी प्याड पठाइएको छ,’ उनले भने, ‘महिनावारीका वेला आफू अध्ययनरत विद्यालयमा आवश्यकताअनुसार फोकल शिक्षिकाको सहयोगमा प्याड लिएर प्रयोग गरे पढाइ पनि छुट्दैन र संक्रमणजन्य समस्याहरूबाट जोगिन सकिन्छ ।’

महिनावारीका वेला प्याड फेर्न र अन्य वेलामा पनि विशेषगरी  किशोरी तथा महिलाहरूका लागि आफ्नै घरमा शौचालय नभई नहुने हुँदा किशोरीहरूमार्फत आ–आफ्नो घरमा शौचालय बनाउन अभिभावकसम्म सन्देश पुर्याउन आग्रह गरे । ‘आर्थिक रूपले नसक्ने परिवारलाई शौचालय बनाउन नगरपालिकाले सघाउँछ, तर जसरी भए पनि बनाऔँ,’ उनले भने । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गीता यादवले महिनावारी फोहोर पाप हो भन्ने भ्रम रहेको चर्चा गर्दै निश्चित उमेरपछि नियमित रूपमा हुने विशुद्ध प्राकृतिक प्रक्रिया हो भन्नेबारेमा आफ्ना अभिभावकलाई पनि बुझाउनुपर्ने उल्लेख गरिन् । ‘कुनै घरमा पहिलोपल्ट किशोरीको महिनावारी भएको खण्डमा खुसी मनाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसको अर्थ किशोरीको स्वास्थ्य सामान्य छ भन्ने बुझ्नुपर्छ ।’ महिनावारी हुँदा प्याड प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्दै उनले त्यसले महिलामा पाठेघर, पिसाबजन्य विभिन्न संक्रमणहरूबाट बच्न सकिने औँल्याइन् । 

महिनावारीको समयमा व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा प्रजनन मार्ग, मूत्र संक्रमणसहित फोहोर प्याड वा कपडा लामो समय प्रयोग गर्दा चिलाउने, रातो हुने, घाउ आउने समस्या देखिनुका साथै संक्रमण बढेर गम्भीर खालका स्त्री रोगसम्बन्धी समस्या हुन सक्ने भएकाले व्यक्तिगत सरसफाइ र प्याडको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। 

लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, दलित जनकल्याण युवा क्लब, द विकन परियोजना, होप फाउन्डेसन, समग्र जनउत्थान केन्द्र, एसओएस भिलेजलगायत विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा आयोजित दिवसमा महिनावारी स्वच्छता, सुरक्षित वैदेशिक रोजगारी, रगत तथा रक्तचाप जाँच, सुलभ र दिगो शौचालयका विकल्पसम्बन्धी विभिन्न स्टलहरू राखिएका थिए । 

सुझावित समाचार