जनकल्याण माविलाई यस वर्षदेखि विज्ञान संकायको अनुमति

महानगरका पाँच विद्यालयमा विज्ञान संकाय

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

महांकालस्थित जनकल्याण माविले यसवर्षदेखि विज्ञान संकायको अनुमति पाएको छ । यस वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले विद्यालयलाई अनुमति दिएको महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले बताए । उनका अनुसार महानगरबाट विज्ञान संकायतर्फको अनुमति  पाएपछि विद्यालयले विज्ञान संकायमा अध्ययन गराउन लागेको हो ।

यहाँ कक्षा ११ र १२ मा मानविकी, कानुन, व्यवस्थापन र शिक्षाशास्त्र संकायको पढाइ हुँदै आएकोमा यस वर्षदेखि विज्ञान संकायको पनि पठनपाठन हुने विद्यालयका सूचना अधिकारी सुरेशकुमार कटुवालले जानकारी दिए । उनका अनुसार विद्यार्थी र अभिभावकबाट विज्ञान संकाय राख्न माग भएपछि विद्यालयले महानगरपालिकासँग पहल गरेको थियो । 

नयाँ संकायको अनुमति पाएपछि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विद्यालयका प्रधानाध्यापक दीपकबाबु श्रेष्ठका अनुसार कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दरबन्दी अभावका बिच पनि आफ्नो शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने गरेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

‘विद्यालयमा विद्यार्थीको चाप छ, यहाँ सबै कक्षाकोठामा स्मार्ट बोर्डदेखि सिकाइका सबै प्रकारका औजारहरू छन्, नियमित कक्षाबाहेक अतिरिक्त कक्षासमेत सञ्चालन हुने हुँदा शैक्षिक नतिजा र विद्यार्थी आकषर्ण राम्रो छ,’ विद्यालयका प्रधानाध्यापक दीपकबाबु श्रेष्ठले भने, ‘एसइई नतिजामा पनि हामीले गत वर्षभन्दा निकै सुधार गरेका छौँ, दूरदराजबाट आएका, आयस्रोत कमजोर भएका, ज्याला–मजदुरी गर्ने अभिभावकका विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ, उहाँहरूले घरमा आफ्ना बालबालिकालाई समय दिन सक्नुहुन्न, विद्यालयको जोडबलले नतिजा राम्रो आएका हो ।’

उनका अनुसार नियमअनुसार कक्षा ९ र १० मा एउटा मात्रै सेक्सन हुँदा कम्तीमा पाँच शिक्षक हुनुपर्छ । तर, जनकल्याणमा ९ र १० कक्षामा गरी १० वटा सेक्सन हुँदा पनि जम्मा ६ जना शिक्षक छन् ।  

त्यस्तै, काठमाडौं महानगरका शिक्षा अधिकृत दाहालका अनुसार काठमाडौं महानगरपालिकाभित्र विश्वनिकेतन, ज्ञानोदय र पदमोदय माविमा विज्ञान संकाय पढाइ हुन्छ । ‘सामुदायिक विद्यालयमा विज्ञान संकायमा विद्यार्थीको राम्रो उपस्थिति छ, अझ शान्ति निकेतनमा बर्सेनि ५–६ जना  मेडिकल र इन्जिनियरिङ विषयमा छात्रवृत्तिका लागि छनोट हुन्छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विज्ञान संकायमा पनि उच्च किसिमको पठनपाठन हुन्छ ।’
 

सुझावित समाचार