भारत सरकारको अनुदान सहयोगअन्तर्गत १४ वटा विद्यालयको निर्माणका लागि ठेकेदारहरू र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकका १४ वटा विद्यालयको निर्माणका लागि सम्झौतापत्रहरूमा हस्ताक्षर गरेको हो ।
यी विद्यालयहरू ०७२ सालको भूकम्पपछिका नेपालमा सञ्चालित भारत सरकारको पुनर्निर्माण सहायताकै हिस्साको रूपमा ५६ करोड दुई लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ । ।
विद्यालयहरू नेपाल सरकारको भूकम्पप्रतिरोधी पुनर्निर्माणसम्बन्धी मापदण्डबमोजिम निर्माण गरिनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठाहरू तथा छात्र एवं छात्राका लागि छुट्टाछुट्टै सरसफाइका संरचनाहरू रहनेछन् ।
दूतावासका अनुसार भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत आठवटा जिल्लाका ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेका छन् ।
भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरूलगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।