जाजरकोटको भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकी स्तरोन्नति गरी उद्घाटन गरिएको छ। नेपाल सरकार, युएनएफपिए र जापानी राजदूतावासको पहलमा स्तरोन्नति गरिएको स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गरिएको हो।
जापान सरकारको आर्थिक सहयोग तथा युएनएफपिएद्वारा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाअन्तर्गत स्वास्थ्यचौकीको स्तरोन्नति गरिएको हो।
उक्त पहलले नेपालका अत्यधिक जोखिममा रहेका समुदायहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई सुदृढ बनाउने लक्ष्य राखेको छ। यस परियोजनाअन्तर्गत स्वास्थ्य संस्थाको भौतिक मर्मत सम्भार, आवश्यक उपकरणहरूको सुनिश्चितता तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिएको छ।
परियोजनाले विशेष गरी जाजरकोट र रौतहटमा विद्यमान स्वास्थ्य सेवाका गम्भीर अभावहरूलाई सम्बोधन गर्छ। जहाँ गर्भवती महिला र नवजात शिशुहरूलाई सेवा दिने स्वास्थ्य संस्थाहरू पहिरोदेखि शीतलहरजस्ता प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको उच्च जोखिममा छन्।
प्राकृतिक विपत् र जलवायुजन्य जोखिमको सामना गर्दै अत्यावश्यक मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई विना कुनै अवरोध निरन्तरता दिन सकियोस् भन्ने उद्देश्यका साथ परियोजनाअन्तर्गत सुदृढ पारिँदै गरेका १० वटा नमुना स्वास्थ्य संस्थाहरूमध्ये यो एक हो।
परियोजनाले आगामी दिनमा आउन सक्ने आपतकालीन अवस्थाको पूर्वतयारी र आवश्यक सामग्रीको उचित भण्डारणका लागि ‘मेडिकल क्याम्प किट’ (चिकित्सा शिविर सामग्री)सहित अत्यावश्यक चिकित्सा उपकरण र जीवनरक्षक सामग्रीको व्यवस्थापनमा समेत सहयोग गरेको छ।