हेटौँडामा चोरीमा संलग्न दुईजना पक्राउ

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका– ८, बुढीचौर घर भई हाल हेटौँडा उपमहानगरपालिका– ७, कमाने बस्दै आएका २३ वर्षीय चूडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ३ः३० बजे हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरा चोक क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको झोलाको खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, नगद र चोरीमा प्रयोग हुने उपकरण बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको दुई थान चुरा, एक थान औँठी, दुई थान झुम्का, ताल्चा काट्न प्रयोग हुने बोल्टकटर एक थान, चार थान घडी, सुन राख्ने एक थान डब्बा तथा नगद चार हजार ११५ रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार