आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा धेरै नाफा आर्जन गर्ने संस्थानको सूचीमा आयल निगम पहिलो स्थानमा छ।आयल निगमले सो वर्ष १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा ०८३ मा उल्लेख छ । त्यस्तै, सबैभन्दा धेरै घाटा व्यहोर्नेमा वायुसेवा निगम रहेको छ । वायुसेवा निगमले सो वर्ष एक अर्ब २३ करोड घाटा व्यहोरेको थियो ।
नाफा गर्ने संस्थानको सूचीमा विद्युत् प्राधिकरण र टेलिकम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। प्राधिकरणले ६ अर्ब ९४ करोड र टेलिकम (दूरसञ्चार कम्पनी लिमिटेड) ले ६ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेका छन्। त्यस्तै, कृषि विकास बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेप्से, नागरिक उड्डयन प्राधिकरण, नागरिक लगानी कोष एचइडिसी लिमिटेड, सिडिएस एन्ड क्लियरिङ, राष्ट्रिय बिमा कम्पनी, कृषि सामग्री कम्पनी र गोरखापत्र पनि नाफा गर्ने संस्थानको सूचीमा छन् ।
त्यसैगरी, जनक शिक्षा सामग्री, विशाल बजार, पारवहन तथा गोदाम व्यवस्था, विद्युत् उत्पादन कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, राष्ट्रिय जीवन बिमा कम्पनी, वन निगम, पूर्वाधार निर्माण कम्पनी, सांस्कृतिक संस्थान र जनकपुर चुरोट कारखाना नाफामा सञ्चालन भइरहेका छन् ।
त्यस्तै, घाटामा सञ्चालित १६ संस्थानको सूचीमा वायुसेवा निगम पहिलो र खानेपानी संस्थान दोस्रो स्थानमा छन्। खानेपानी संस्थानको घाटा रकम ८० करोड ७९ लाख रुपैयाँ छ। त्यस्तै, दुग्ध विकास संस्थान, हेटौँटा सिमेन्ट, उदयपुर सिमेन्ट, नेपाल रेल्वे कम्पनी, सार्वजनिक सेवा प्रसारण (नेपाल टेलिभिजन), ओरियन्ट म्याग्नेसाइट, नेपाल औषधि, साझा यातायात, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, बुटवल धागो, धौवादी फलाम, राष्ट्रिय आवास कम्पनी र नेपाल मेटल घाटामा सञ्चालन भइरहेका छन् ।