प्रत्येक दिन ठिक अपराह्न ३ बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धर्ना बस्नु र साँझ ५ बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका– ४, जनकपुरकी दीपा नेपालीको पछिल्लो दैनिकी हो । ६ वैशाखदेखि निरन्तर चलिरहेको उनको धर्ना कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि होइन, दातृ निकाय रिझाउन पनि होइन, सहरमा डेरा खोज्दा खेप्नुपर्ने जातीय विभेदविरुद्ध हो । र, यस्तो विभेदको भुक्तभोगी उनी आफैँ पनि हुन् ।
दीपाका अनुसार सातवर्षे काठमाडौं बसाइमा आठ ठाउँमा डेरा सरिन् । केही महिना बसेपछि नयाँ डेरा खोज्नुपर्ने बाध्यता उनीमाथि आइलाग्थ्यो । कारण थियो– नामसँगै आउने जात । ‘जात थाहा नपाउँदासम्म घरबेटीले छोरीकै व्यवहार गर्छन् । जब जात खुल्छ, एकाएक बैरी ठान्छन्, अनि सुरु गर्छन् डेराबाट निकाल्ने षड्यन्त्र,’ उनले वासका लागि गरेको संघर्ष सुनाइन्, ‘काठमाडौं भित्रिएको सात वर्षमा जातकै कारण आठपटक कोठा सरिसकेँ ।’
बसिसकेको डेराबाट जातका कारण अन्यत्र सर्नुपरेको पो आठौँपटक त । जात सोधेर सुरुमै कोठा नदिने घटना त कति हो कति । माइतीघर मण्डलामा दीपाले बोकेको प्लेकार्डमा विशाल पीडा सुनाउने ‘थोरै शब्द’ मात्रै अटाएका थिए । उनको मनमा पीडाको ‘शब्द भण्डार’ नै बनिसकेको छ । ‘डेरा खोज्दा नचहारेको काठमाडौंको कुनै गल्ली छैन । घरबेटीसँग नबिसाएको कुनै बिन्ती छैन । तर, जातका कारण हुने अवरोधले करिअरमै धक्का पुग्यो,’ उनले भनिन्, ‘काठमाडौं बसाइको आधाभन्दा बढी समय त डेरा खोज्नमै बितेको छ ।’
मुस्किलले डेरा भेट्टाउँछिन् । दुई पक्षबिच भाडा लेनदेनको सहमति पनि हुन्छ । घरबेटीले ‘एड्भान्स्ड’ रकम पनि बुझ्छन् । जब जात खुल्छ, तब घरबेटी अनेक बहाना निकाल्छन्, कोठा दिन इन्कार गर्छन् । केही वर्षअघि सामाखुसीमा डेरा खोज्दा भोगेको पीडा बिसाइन्, ‘डेरा खोज्ने क्रममा सामाखुसीमा खाली कोठा भेटियो । घरबेटीसँग भेट भयो, सौहार्दपूर्ण बातचित भयो । घरबेटीले कोठा देखाएपछि भाडाको पनि टुंगो लाग्यो । कोठामा रंग घरबेटीले नै लगाइदिने मौखिक सम्झौता गरेर म फर्किएँ । तर, पछि फोन गरेर उनले एड्भान्स्ड रकम मागिन् । झुक्तानी गर्न भाइ स्वरूपराज नेपालीलाई पठाएँ । डिजिटल भुक्तानीमा भाइको पूर्ण परिचय देखेपछि उक्त डेराको ढोका हाम्रो लागि बन्द भयो ।’
भाइ डेरामा आइनपुग्दै घरबेटीले आफूलाई फोन गरेर कोठा दिन नसक्ने जवाफ दिएको दीपाले बताइन् । ‘तिमीहरू दलित रहेछौ, म कोठा दिन सक्दिनँ,’ घरबेटीका ती शब्द उद्धृत गर्दै उनले भनिन्, ‘घरमा बुढा बाआमा हुनुहुन्छ, उहाँहरू मान्नुहुन्न । मैले घरका मान्छेसँग पनि सल्लाह गरेको छैन ।’
डेराका लागि तारन्तार सास्ती खेप्नुपरेपछि दीपा नेपालीको चेतनाको बत्ती बल्यो– दलित भएकै कारण सहरमा वासका लागि संघर्ष मेरो मात्रै पक्कै होइन, देशभरका ६० लाख दलितको साझा समस्या हो । उनले भनिन्, ‘त्यसैले मैले धर्ना सुरु गरेकी हुँ ।’
तारकेश्वर नगरपालिका– १०, नेपालटार हिलेटाेलमा डेराकै कारणले दीपाले भोगेको समस्या अझ दर्दनाक छ । घटना १३ मंसिर ०७६ को हो । पुरानो डेराबाट निकालिएपछि उनी साथीको शरणमा थिइन् । महिनौँको प्रयासपछि उनले नेपालटारमा श्रीकृष्ण बिडारीको घरमा डेरा फेला पारिन् । बिडारीकी श्रीमती राधिकासँग प्रतिमहिना आठ हजार भुक्तानी गर्ने गरी दुईवटा कोठा लिएर डेरा सरिन् । तर, घरबेटीकी छोरीलाई दिएको परिचयले भोलिपल्टै संकट निम्त्यायो ।
‘सरसामान मिलाउँदै गर्दा घेरबेटीकी छोरी ढोका ढकढक्याउँदै कोठामा छिरिन् । उनले परिचय मागेपछि मैले जे हो त्यही भनिदिएँ । भोलिपल्टै घरबेटी राधिका आएर डेरा छाड्न दबाब दिइन्,’ दीपाले भनिन् । राधिकाले त्यतिवेला भनेका शब्द सम्झिँदै दीपाले अगाडि सुनाइन्, ‘कोठा दिनुअघि तिम्रो थर थाहा भएन । अहिले थाहा भयो, तिमीहरू तल्लो जातका रहेछौ । भर्खरै बाबुको मृत्यु भएर हामी बरखी बारिरहेका छौँ । घरमा बुढी आमा पनि हुनुहुन्छ । सामाजिक दृष्टिकोणमा पनि नराम्रो भइन्छ । अब अन्तै कोठा खोजेर निस्केर जाऊ, यहाँ बस्न मिल्दैन ।’
घरबेटीको शब्द–शब्दले दीपाको मथिंगल हल्लायो । मुस्किलले फेला पारेको डेरा फुत्किने पिरले आत्तिएकी उनले प्रतिवाद होइन, बिन्ती बिसाइन् । तर, घरबेटी कुनै हालतमा मानिनन् ।
अर्को दिनबाट दीपाको पुरानै अभियान सुरु भयो– नयाँ डेरा खोज्ने । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरकी विद्यार्थी उनी कक्षा चल्ने समयमा मात्रै त्यहाँ हुन्थिन्, बाँकी समय डेरा खोज्नमै बित्थ्यो । अर्को डेरा नपाएसम्म पुरानो डेरा छाड्ने अवस्था थिएन । तर, घरबेटी अत्याचारमा उत्रिएको भोगाइ उनले सुनाइन् । ‘कहिले अपरिचित युवा ल्याएर धम्की दिन्थे । कहिले डेरा खाली गराउन वडा कार्यालयमा उजुरी दिन्थे । तर, मैले नयाँ डेरा भेटेकै थिइनँ,’ दीपाले उक्त घटनाबारे भनिन्, ‘घरबेटीको अत्याचार सहन नसकेपछि स्थानीय प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्म पुगेँ, पीडा सुनाएँ । तर, सुनुवाइ भएन । कारण, घरबेटी श्रीकृष्ण नै गृह मन्त्रालयको हाकिम रहेछन् । प्रहरीमा दिएको जाहेरीसमेत उनैले रोक्न लगाएका रहेछन् ।’
राज्यका निकायबाट न्याय नपाएपछि उनले अन्ततः पत्रकार सम्मेलन गरेर पीडा सार्वजनिक गरिन् । त्यसले दबाब परेपछि प्रहरीले बल्ल उनको जाहेरी दर्ता गर्यो । घरबेटीलाई पक्राउ गर्यो । अदालतमा मुद्दा पनि चल्यो । तर, घरबेटीको अत्याचार कम भएन, बरु झन् बढ्न थाल्यो । घरबेटीले उनका लागि पानी बन्द गरिदिए, शौचालयमा ताला लगाए । बिजुलीको मात्रै होइन, कोठाको भाडा पनि बढाए । न्याय माग्न वडा कार्यालय पुगेकी उनलाई वडाले जारको पानी खरिद गर्न भन्दै सात सय रुपैयाँ दिएर पठायो ।
दीपाको कोठा खोज्ने अभियान जारी नै थियो । तर, जातकै कारण भेट्टाउन सकिरहेकी थिइनन् । यता गृह मन्त्रालयको शक्ति प्रयोग गरेर घरबेटीले कोठा छाड्न वडाबाट ३५ दिने सूचना निकाले ।
विलखबन्धनमा परेकी उनले कीर्तिपुरमा बल्ल कोठा फेला पारिन् । हतारहतार सोही कोठामा सरिन् । तर, जब घरबेटीले उनको जात थाहा पाए, त्यहाँ पनि कोठाबाट निकाल्ने खेल सुरु भयो ।
कोभिड महामारीका कारण मुलुक ठप्प थियो । दलित भएकै कारण घरबेटीबाट निकालिनुपरेको कथा सञ्चारमाध्यममा छ्यापछ्याप्ती थियो । सोही माध्यमबाट कीर्तिपुरका घरबेटीले उनको जात थाहा पाएका थिए । घरबेटीको दबाबपछि दीपा कीर्तिपुरको डेरा पनि छाडेर शंखमूल सरिन् । तर, जात थाहा पाएपछि त्यहाँ पनि निकालामा परिन् ।
अहिलेसम्म सातवर्षे काठमाडौं बसाइमा आठ ठाउँमा कोठा सरेको अनुभव दीपासँग छ । ‘अहिले बसिरहेको घरमा मात्रै हो लामो समय गुजारेको, नत्र सबैमा तीनदेखि पाँच महिनाभन्दा धेरै कतै बस्न पाइनँ,’ उनले भनिन्, ‘सहर हेर्दा जति फराकिलो र सुन्दर छ, यहाँमा अधिकांश मानिसको सोच साँघुरो र दुर्गन्धित छ । विभेद गर्नेहरूमाथि राज्यको लाचारीका कारण दलित समुदायका मानिसले वाससमेत पाउन सकेका छैनन् ।’
माइतीघर मण्डलामा छुट्टाछुट्टै आठ धर्ना
दीपा मात्रै होइन, माइतीघर मण्डलामा छुट्टाछुट्टै आठ समूह पनि धर्नारत छन् । समूहपिच्छे सबैका माग फरक–फरक छन् । यहीमध्येकी हुन्– सिन्धुलीको सुनकोशी गाउँपालिका– ३, जुम्लेडाँडाकी विन्दमाया विक । उनका छोरा २२ वर्षीय कृष्ण विकको सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गत ७ वैशाखमा शंकास्पद मृत्यु भएको थियो । छोराको न्यायका लागि प्रहरीमा दिएको जाहेरी दर्ता नभएपछि उनी १२ वैशाखदेखि धर्नामा छिन् ।
त्यस्तै, सहकारी बचतकर्ताको २३ अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार जिबी राईविरुद्ध पनि पीडितले मण्डलामा धर्ना सुरु गरेका छन् । टेन्टसहित धर्नामा उत्रिएका उनीहरू रात पनि सडकमै बिताउँछन् । दिनभर सडकमा धर्ना कस्छन् र राति टेन्टमा फर्किन्छन् ।
जनावरको सुरक्षाको माग गर्दै अभियान छेडेका अभियन्ता पनि माइतीघर मण्डलामै धर्नारत छन् । त्यस्तै, जबर्जस्ती करणीमा संलग्न नेत्रप्रसाद तिमिल्सिनाविरुद्ध कारबाहीको माग गर्दै पीडित धर्नामा बसेका छन् । सोही कसुरमा संलग्न कर्णबहादुर मल्लका पीडित पनि धर्नामा छन् । मिटरब्याजपीडित उमा महतो पनि एक सातादेखि माइतीघरमै धर्नामा छिन् । त्यस्तै, दलित जेन–जी फ्रन्ट, मिर्गौलापीडितहरूको पनि मण्डलामै धर्ना छ ।