बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक लिमिटेडबिच दुई करोड ५० लाख अमेरिकी डलरबराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ।
नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत छ। यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ। तर, विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबिचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत लघु, साना तथा मझौला उद्यमले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन्।
यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिनेछ। यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ।
बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल ‘2X Challenge’अन्तर्गत मान्यता प्राप्त गरेको छ। ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट यस पहलको संस्थापक सदस्यसमेत हो। बैंकको सुशासन, नेतृत्व, रोजगारी र कर्जा पोर्टफोलियोमा लैंगिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको हो। साथै, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको प्राविधिक सहयोग कार्यक्रम ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल’ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको छ।