भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री जोशीको मुद्दाको दुई वर्ष बित्दा पनि आएन पूर्णपाठ

पूर्णपाठ नआउँदा के–कति सम्पत्ति जफत गर्ने टुंगो लागेन

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला भएको दुई वर्ष पुग्न लाग्दा पनि पूर्णपाठ आएको छैन । सर्वोच्च अदालतको संयुक्त इजलासले ०८१ मा जोशीसम्बद्ध लगाउमा रहेका दशकभन्दा बढी समय भइसकेका सात मुद्दामा फैसला गरेको थियो । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले १३ साउन ०८१ मा फैसला गरेको थियो । फैसलाअनुसार जोशीलाई ९ महिना कैद तथा ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो । जोशीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेकामा सर्वोच्चबाट ठहरको फैसला भएको थियो । 

ताराराज पाण्डे, दिनेशराज जोशी तथा वासुदेव पन्तलगायत विपक्षी रहेको यस मुद्दामा सबैका पुनरावेदन, सरकारी पक्षको पुनरावेदनलगायतका निवेदनसमेत सँगै राखी सुनुवाइ भएका थिए । पाण्डे र पन्तले भने सफाइ पाएका थिए । 

यसअघि विशेषले भने उनलाई डेढ वर्ष कैद तथा दुई करोड रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला गरेको थियो । सुरुमा विशेषले ०६३ कात्तिकमा जोशीविरुद्धका मुद्दा नै खारेज गरे पनि पछि पुनः सर्वोच्चले सुनुवाइका लागि विशेषमै पठाइदिएको थियो । त्यसपछि विशेषले पुनः सुनुवाइ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग दाबी पुष्टि हुने फैसला गरेको थियो । यसविरुद्ध पक्षहरू सर्वोच्च पुगेकामा १२ वर्षपछि मात्र टुंगिएको थियो । तर, फैसला आएको दुई वर्ष पुग्न लाग्दा पनि पूर्णपाठ भने तयार भएको छैन । 

सर्वोच्चको पुरानोमध्येको यो मुद्दामा पटक–पटक विविध कारणले सुनुवाइ हुन सकेको थिएन । आय गणनासमेतका विषय सर्वोच्चबाट स्पष्ट भएपछि मुद्दा टुंगिएको थियो । जोशीकै मुद्दा फैसला भएको मितिमा २८ वटा मुद्दामा फैसला भएका थिए । जसमध्ये ११ वटाको पूर्णपाठ हालसम्म अपलोड भएका छैनन्, जसमा सात मुद्दा जोशीकै छन् । बाँकी चारमा तीनवटा सेनासम्बद्ध र एउटा निर्माण कम्पनीको विवादसम्बन्धी छ । 

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अध्ययन गर्नुपर्ने विषय धेरै भएका कारण पूर्णपाठ तयारीमा ढिलाइ भएको हो । कोइरालाले भने, ‘पूर्णपाठ आउने क्रममै छ । धेरै अध्ययन गर्नुपर्ने ठुलो मिसिल भएको मुद्दा हो । त्यसैले श्रीमान्हरूले हेर्दै हुनुहुन्छ, छिट्टै आउँछ ।’ 

सुझावित समाचार