परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप मोफा मित्र मंगलबार सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले विभाग कार्यालय त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा मोफा मित्र एपको सार्वजनिक एवं औपचारिक शुभारम्भ गरे ।
परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले 'मोफा मित्र' एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरू र नेपाली नियोगहरूबिच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खनालले कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याहरूको प्रभावकारी सम्बोधनमा एपले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे। कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग क्रियाशील रहेको जानकारी दिइन् ।
एपमार्फत विदेशमा समस्या परेका/ अलपत्र परेका/हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिनेछ । यसैगरी, विदेशमा नेपालीहरूको मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बिमा तथा क्षतिपूर्ति रकम दाबीलगायत अन्य गुनासो तथा समस्या दर्ता गर्न सकिने र आफ्नो निवेदनउपर भएको कारबाहीको जानकारी लिन सकिने सुविधा पनि एपमा छ ।
विदेशस्थित सबै नेपाली नियोगहरूको सम्पर्क विवरण तथा नियोगले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी तथा सुरक्षा सूचना एवं कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्नसहितका उपयोगी जानकारीहरूसमेत एपमा समावेश गरिएको छ।