चौथो काठमाडौं कलिङ साहित्य महोत्सव जेठ २३–२४ मा हुने

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

‘काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)’को चौथो संस्करण जुन ६ र ७ (जेठ २३–२४)मा हुने भएको छ। ‘सीमाभन्दा पर : परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटेल हिमालयमा आयोजना हुनेछ।

महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

महोत्सवको चौथो संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कवितावाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तर्क्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिने महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिए।

महोत्सवमा यसपटक गायिका इला अरुण, लेखक प्रतिभा राय, अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक  व्यक्तित्व आचार्य प्रशान्तलगायत छन्। त्यस्तै, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतिन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता जनाउनेछन्।

निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिने बताए।

यो महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो। भारतका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवहरूमध्ये एक केएलएफले सन् २०२२ देखि काठमाडौं संस्करण आयोजना गर्दै आएको छ। 

ओडिसाको भुवनेश्वरमा आधारित कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक तथा सांस्कृतिक महोत्सवमध्ये एक हो। यस संस्थाले केएलएफ बुक अवार्ड्स, कलिङ साहित्य महोत्सव इन्द्रप्रस्थ तथा मिस्टिक कलिङ पनि आयोजना गर्दै आएको छ।

सुझावित समाचार