महोत्तरीको बर्दिवास– ३, कालापानीस्थित बिपी राजमार्गमा मंगलबार बिहानदेखि भएको अवरोध हटेको छ। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा टोली, वन कार्यालय, स्थानीय जनप्रतिनिधि र आन्दोलनरत पक्षबिच मंगलबार बिहानदेखि जारी वार्तामा सहमति जुटेसँगै सडक सञ्चालनमा आएको हो।
घटनामा भएको क्षति सरकारले व्यहोर्ने, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थित बनाउन सरकारसँग अनुरोध गर्ने, प्रमाणीकरणमा रहेका घरजग्गा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा योजना बनाई अघि बढाउनेलगायतका बुँदामा सहमतिपछि सडक सञ्चालनमा आएको हो।
सोमबार साँझ वन अनुगमनमा गएको टोलीले अतिक्रमित जग्गा खाली गर्नुपर्ने बताएपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका थिए। उनीहरूले वन कर्मचारीहरूलाई नियन्त्रणमा लिएर उनीहरू सवार गाडीमा आगजनीसमेत गरेका थिए।
पछि प्रहरी टोलीले उनीहरूलाई रेस्क्यु गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थानीय सरकारको आग्रहमा उनीहरूलाई छाडिएको थियो। मंगलबार बिहानैदेखि स्थानीयहरूले बिपी राजमार्ग अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए।