९.६९%ले बढ्यो प्राधिकरणको नाफा

चालू आवको नौ महिनामा १० अर्ब आठ करोड आम्दानी

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

शतप्रतिशत सरकारी स्वामित्व भएको नेपाल विद्युत् प्राधिकरणको नाफा चालू आर्थिक वर्ष ०८२/८३ को नौ महिनामा ९.६८ प्रतिशतले बढेको छ । गत आव र चालू आवको पुस मसान्तसम्म प्राधिकरणको नाफा घट्दो क्रममा थियो । तर, चैत मसान्तसम्म आउँदा प्राधिकरणले नाफा बढाएको हो । 

प्राधिकरणको अपरिष्कृत तथ्यांकअनुसार चालू आवको नौ महिनामा १० अर्ब आठ करोड रुपैयाँ नाफा भएको छ । गत आवको नौ महिनामा भने नौ अर्ब १९ करोड ८० लाख नाफा भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा प्राधिकरणको नाफा ३७.२ प्रतिशतले घटेको थियो । आव ०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड ५० लाख खुद नाफा कमाएको थियो । गत आवमा भने नौ अर्ब ६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको अन्तिम लेखा परीक्षणपछिको तथ्यांक सार्वजनिक हुन भने बाँकी छ । 

चालू आवको ६ महिनामा पनि प्राधिकरणको नाफा २९ प्रतिशतले घटेको थियो । गत आवको ६ महिनामा प्राधिकरणले ११ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको ६ महिनामा भने प्राधिकरणले आठ अर्ब ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आउँदा भने प्राधिकरणले नाफा थप गरेको छ । 

तेस्रो त्रैमासमा दुई अर्ब नाफा थप
सामान्यतया तैस्रो त्रैमासमा प्राधिकरण घाटामा सञ्चालन हुने गर्छ । यो सुक्खा याम भएका कारण नेपालको विद्युत् उत्पादनमा भारी गिरावट आउँछ । सोही कारण यो वेलामा महँगोमा विद्युत् किन्नुपर्छ । आन्तरिक माग धान्न भारतबाट पनि महँगोमा बिजुली आयात गर्नुपर्छ । त्यसले गर्दा तेस्रो त्रैमासमा प्राधिकरण घाटामै सञ्चालन हुने गर्छ । जसले गर्दा पुससम्म भएको नाफा चैतसम्म पुग्दा घट्ने गर्छ ।

तर, यसपालि भने घाटा हुने सिजनमै प्राधिकरणले नाफा बढाएको छ । गत पुसको तुलनामा चैतसम्म आउँदा प्राधिकरणको नाफा दुई अर्ब एक करोड ६० लाख रुपैयाँले बढेको छ । जबकि, अघिल्ला आवको तेस्रो त्रैमासमा प्राधिकरणको नाफा घट्ने गर्थ्यो ।

गत आवको पुसबाट चैत मसान्तसम्म आउँदा प्राधिकरणको नाफा दुई अर्ब १६ करोड १२ लाख रुपैयाँले घटेको थियो । गत आवको पुस मसान्तसम्म ११ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ रहेको प्राधिकरणको नाफा चैतसम्म पुग्दा नौ अर्ब १९ करोड ८० लाखमा सीमित भएको थियो । 

मुख्यतः अफसिजनमा विद्युत् निर्यात भएपछि नाफा बढेको प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीघार्युकुमार श्रेष्ठले बताए । ‘हिउँदको समयमा विद्युत् निर्यात हुँदैन । तर, यसपालि फागुन–चैतमै प्रि–मनसुन भयो । त्यसले खोलामा पानीको सतह बढ्दा विद्युत् उत्पादन बढ्यो । फागुन–चैतमा समेत विद्युत् निर्यात भएको छ,’ उनले भने, ‘यसरी अफसिजनमा भएको विद्युत् निर्यातबाट हुने आम्दानीले नाफा बढाउन सहयोग पुग्यो ।’ यस्तै, आयात कम हुँदा पनि प्राधिकरणको खर्च कम भई नाफा बढ्न सहयोग पुगेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार चालू आवको नौ महिनामा २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँबराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । गत आवको नौ महिनामा १३ अर्ब १५ करोड १९ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो । 

यस अवधिमा भारतबाट सात अर्ब ३९ करोड रुपैयाँको विद्युत् आयात भएको छ । गत आवको सोही अवधिमा भने नौ अर्ब ४२ करोड ९२ लाख रुपैयाँको विद्युत् आयात भएको थियो ।

सुझावित समाचार