महोत्तरीको बर्दीबास नगरपालिका– ३, कालापानीमा वन अतिक्रमण गरी बसाइएको बस्ती तथा अन्य अतिक्रमित क्षेत्र खाली गर्न सूचना दिन गएको वन अधिकृतसहितको सातजना वन कर्मचारीको टोलीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
कर्मचारीलाई सोमबार अबेर रातिसम्म नियन्त्रणमा राखेका थिए। आफूहरूलाई उठीवास लगाउन आएको भन्दै वन कर्मचारीलाई अबेर रातिसम्म नियन्त्रणमा राखेका हुन्। यता नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वन कर्मचारीहरूलाई रेस्क्यु गरेकाे थियाे।
उनीहरूलाई राति करिब १२ बजे रेस्क्यु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारुमगरले बताए। तथापि, स्थानीयहरूले बा.२झ २७४९ नम्बरको वनको गाडी तोडफोड गर्दै आगजनी गरेको उनले जानकारी दिए। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
वन कर्मचारीहरूलाई रेस्क्यु गर्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा केही स्थानीय घाइतेसमेत भएको बताइएको छ। तथापि, उनीहरूको उपचारबारे हालसम्म खुलेको छैन। प्रहरीले राति गोलीसमेत चलाएको स्थानीयको दाबी छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले राति केही स्थानीयलाई नियन्त्रणमा लिए पनि बर्दीबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीको पहलमा उनीहरूलाई प्रहरीले राति नै छाडेको हो।
यता स्थानीयहरूले मंगलबार बिहानैदेखि बिपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन पुनः थालेका छन्। स्थानीयहरूले सरकारको पक्षबाट बस्ती खाली नगराउने स्पष्ट प्रतिबद्धता नआएसम्म आफूहरूले आन्दोलन जारी राख्ने जनाएका छन्। बर्दीबास नगरपालिका– ३ का पूर्ववडासदस्य गणेश बस्नेतले सरकारले व्यवस्थापन विनासुकुमवासीहरूलाई हटाउन खोजेकोले यस्तो अवस्था सिर्जित भएको बताए। उनले राति–राति बस्तीमा प्रवेश गरेर घरघरमा गएर खाली गर्न सूचना दिन आएपछि स्थानीयहरू त्रसित भएर प्रतिकार गरिएको बताए ।
यता स्थानीयहरूसँग समन्वय गर्न तथा अवरुद्ध सडक खुलाउन महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरू तथा अन्य सरोकारवालाहरू कालापानी पुग्दै छन्। डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले बर्दीबासको राजावास, कालापनी र वरडाँडा क्षेत्रमा मात्र वनको एक हजार एक सय हेक्टर जग्गा अतिक्रमण भएको जनाएका छन्।