कसमस सिमेन्ट उद्योगको चुनढुंगा ढुवानीले सडक, वातावरण र कृषि क्षेत्रमा असर परेको भन्दै स्थानीयद्वारा समाधान गर्न माग

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरगढी गाउँपालिका– ८ स्थित बैजनाथ टोल क्षेत्रका स्थानीयवासीले कसमस सिमेन्ट उद्योगको खानी क्षेत्रबाट हुने चुनढुंगा ढुवानीका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको भन्दै स्थायी समाधानको माग गरेका छन्।

बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमार्फत उद्योगको चुनढुंगा ढुवानीका लागि प्रयोग हुने टिपर र ट्रकको अत्यधिक सञ्चालनले स्थानीय सडक जीर्ण र जोखिमपूर्ण बन्दै गएको जनाएको छ। सडकको अवस्था बिग्रँदै जाँदा स्थानीय बासिन्दा, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई दैनिक आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भइरहेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे र खाल्डाखुल्डीपूर्ण हुने तथा सुक्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले जनजीवन कष्टकर बनेको छ। ढुंगा ढुवानीका क्रममा ओभरलोड सामग्री सडकमा झर्ने गरेको र सडक मर्मतका क्रममा चुनढुंगा प्रयोग गरिँदा खेतीयोग्य जमिनको उत्पादनमा समेत प्रत्यक्ष असर परेको जनाइएको छ।

टोल विकास संस्थाको ज्ञापनपत्रमा वर्षाको पानीसँगै खानीजन्य कच्चा पदार्थ बगेर खेतबारीमा थुप्रिने गरेकाले कृषि उत्पादन घट्दै गएको तथा दीर्घकालीन रूपमा स्थानीय कृषि प्रणाली कमजोर बन्ने खतरा बढेको उल्लेख गरिएको छ। साथै, बस्तीको बिचबाट ढुवानी मार्ग सञ्चालन हुँदा अत्यधिक कम्पन तथा ध्वनि प्रदूषणका कारण सडकआसपासका घरसमेत जोखिममा परेको संस्थाकी अध्यक्ष शर्मिला तामाङले बताइन्।

सोही क्षेत्रकी सामाजिक अभियन्ता रमा मगरका अनुसार यस विषयमा छलफल गर्न गत जेठ ३ गते वडा अध्यक्षसहित सरोकारवाला पक्ष र उद्योग प्रतिनिधिलाई सहभागी गराई बैठक आयोजना गरिएको थियो। तर, उद्योग पक्ष बैठकमा उपस्थित नभएकाले स्थानीयले तत्काल समाधानको माग गरेका हुन्।

समस्या समाधानका लागि उद्योग पक्षसँग वार्ता नभए अनिश्चितकालीन सडक बन्द गर्ने निर्णयसमेत भएको बताइएको छ। त्यसपछि उद्योगका स्थानीय कर्मचारीले पाँच दिनभित्र उद्योगको आधिकारिक प्रतिनिधिसँग वार्ता गराउने मौखिक सहमति जनाए पनि तोकिएको समयमा कुनै पहल वा जानकारी नआएको भन्दै स्थानीयवासी थप आक्रोशित बनेको मगरले बताइन्।

संस्थाले गाउँपालिकालाई तत्काल उद्योग पक्ष, स्थानीय जनप्रतिनिधि, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय समुदायको संयुक्त उपस्थितिमा बैठक आयोजना गरी समस्याको स्थायी समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ संघीय सांसद, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा कार्यालय तथा सञ्चार माध्यमलाईसमेत पठाइएको छ।

कसमस सिमेन्ट उद्योगले उदयपुरगढी गाउँपालिका– ४ को सरुने पाखा र जल्केनी पाखालगायतका गाउँ तथा जंगल क्षेत्रबाट चुनढुंगा उत्खनन गर्दै उदयपुरगढी– ८ को बैजनाथ खोलाको बाटो हुँदै मानव बस्तीबिचबाट मदन भण्डारी लोकमार्गसम्म ढुवानी गर्दै आएको छ। त्यसपछि मदन भण्डारी लोकमार्गको कमान–चुवाडे सडकखण्ड प्रयोग गरेर चुनढुंगा ढुवानी गरिन्छ। टिपरको अत्यधिक सञ्चालनका कारण मदन भण्डारी लोकमार्गमा पनि दुर्घटनाको जोखिम बढेको स्थानीयको आरोप छ।

सुझावित समाचार