महालक्ष्मी विकास बैंकले वार्षिकोत्सवका अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ । बैंकले ७ जेठमा ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक कार्यक्रमअन्तर्गत २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम गरेको जनाइएको छ । विभिन्न स्थानमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषणजस्ता बैंकिङ सेवासँग सम्बन्धित विषयवस्तु समेटिएको थियो ।
त्यस्तै, ४ जेठमा बैंकको केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा करिब दुई सयजना व्यक्तिको स्वास्थ्य, आँखा तथा दाँतको परीक्षण गरिएको बैंकले जनाएको छ । यसैगरी, ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममार्फत दुई सय पिन्ट रगत संकलन गरिएको बताइएको छ । सोही दिन बैंकले संस्कृति प्रवद्र्धन गर्न विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरमा सरसफाइलगायतका सामग्री हस्तान्तरण गरेको छ ।
साथै, ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैँचा प्रवद्र्धन÷मर्मत–सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवद्र्धनका लागि समेत बैंकले सहयोग गरेको छ । ७ गते केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत कर्मचारीलाई स्थानीय वेशभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित वेशभूषाको प्रहसनसमेत गरेको थियो । सोही दिन नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी व्यवस्थापनका लागि पानीट्यांकी हस्तान्तरण गरेको छ ।