पहिलो खेलमा भारतसँग हारेपछि दबाबमा परेको घरेलु टोली नेपाल लगातार दुई जितका साथ काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ५४औँ वरीयतामा रहेको नेपालले ७०औँ वरीयताको माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । युवा खेलाडीको उत्कृष्ट प्रदर्शनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले खेलमा माल्दिभ्सलाई २५–१२, २५–९ र २५–२० ले हरायो ।
नेपालको तीन खेलबाट ७ अंक भएको छ । भारतले दुई खेलबाट ५ अंक जोड्दा किर्गिस्तानले समान खेलबाट ३ अंक मात्र बटुलेको छ । नेपाल सेमिफाइनलमा प्रवेश गरेसँगै अब समूह ‘ए’बाट भारत र किर्गिस्तानमध्ये एक टोली अन्तिम चारमा पुग्नेछ । भारतले सोमबार किर्गिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्दै छ । यो खेलपछि समूहको विजेता टुंगो लाग्नेछ । समूह ‘बी’बाट इरान र काजकिस्तानले सेमिफाइनल यात्रा बलियो बनाएका छन् । इरान अर्को चरणमा प्रवेश गरिसकेको छ । समूहमा श्रीलंका र बंगलादेश पनि रहेका छन् ।
काभा च्याम्पियनसिपको रोमाञ्चक र प्रतिस्पर्धात्मक उद्घाटन खेलमा भारतसँग नेपाल ३–२ को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल पुग्ने आशा बलियो बनाएको थियो । तेस्रो खेलमा माल्दिभ्सलाई हराएसँगै नेपालले समूह ‘ए’बाट अन्तिम चारको स्थान पक्का गरेको हो ।
कप्तान निरुताले रणनीतिअनुसार सेमिफाइनल यात्रा पक्का भएको बताइन् । ‘प्रशिक्षकको रणनीतिअनुसार खेल्यौँ,’ निरुताले भनिन्, ‘पहिलो खेलमा पराजित भएपछि दबाबमा थियौँ, तर लगातार दुई जितका साथ सेमिफाइनलमा स्थान बनाउन सफल भयौँ ।’
कप्तान निरुताका अनुसार च्याम्पियनसिपमा ‘सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । ‘अहिले युवा र सिनियर खेलाडीले उत्कृष्ट खेलिरहेका छन् अब सेमिफाइनलका लागि हामी तयार हुन्छौँ,’ उनले भनिन् । नेपालका प्रशिक्षक जगदीश भट्टले सेमिफाइनलका लागि तीन दिनको तयारी समय रहेको बताए । यस समयमा नेपालले सेमिफाइनलको प्रतिद्वन्द्वीअनुसार रणनीति तयार हुने उनले बताए ।
उनले इरान र काजकिस्तान जो प्रतिद्वन्दी भए पनि नेपाल खेल्न तयार भएको बताए । ‘सेमिफाइनल पुग्ने चारै टोली बराबरका छन् । इरान र काजकिस्तान केही बलिया हुन् । हामीसँग तीन दिनको तयारी समय छ,’ प्रशिक्षक भट्टले भने, ‘रिसिभ र ब्लकमा सुधार गर्नुपर्नेछ । यसका लागि तयार हुन्छौँ ।’
नेपालको सहज जित
माल्दिभ्सविरुद्ध पहिलो सेटमा कप्तान निरुता, उषा भण्डारी, सुमित्रा रेग्मी, सुनिता खत्री, शान्ति तामाङ र रिमा कुँवरलाई प्रशिक्षक भट्टले खेलाएका थिए । नेपालले पहिलो सेट २५–१२ ले जित्यो । दोस्रो सेटमा पनि सानदार प्रदर्शन गर्दै नेपाल २५–९ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा उषाको स्थानमा सलिना बुढामगर र प्रगतिको स्थानमा जसना महतोले अवसर पाएका थिए । यसै सेटमा एलिसाले राष्ट्रिय महिला भलिबलमा डेब्यु गरेकी हुन् ।
तेस्रो सेटमा पनि नेपाल २५–२० को सहज जित निकाल्न सफल भयो । प्रशिक्षक भट्टले तेस्रो सेटमा मीना सुनार र वसन्ती साउदलाई अवसर दिए । उनले तेस्रो खेलमा लिबेरो सलिना श्रेष्ठलाई विश्राम दिएका थिए । अन्य सबै खेलाडीले तेस्रो खेल खेलेका हुन् । ‘हामीले आगामी महत्वपूर्ण खेलका लागि सलिनालाई विश्राम दिएको हो,’ प्रशिक्षक भट्टले भने ।
६ खेलाडीकै डेब्यु
काभा च्याम्पियनसिपमा प्रशिक्षक भट्टले तेस्रो खेलसँगै घोषित नयाँ ६ खेलाडीलाई नै डेब्यु गराएका छन् । माल्दिभ्सविरुद्ध एलिसा मानन्धरले डेब्यु गरिन् । एलिसालाई पहिलो खेलमा भारतसँग डेब्यु गरेकी सुनिता खत्रीको स्थानमा कोर्ट प्रवेश गराइएको थियो । यसअघि पहिलो खेलमा भारतविरुद्ध मीना सुनार, सुनिता खत्री, सलिना बुढामगर, जसना महतो र वसन्ती साउदले डेब्युको अवसर पाएका थिए ।
सेमिफाइनलमा केन्द्रित हुन्छौँ
जगदीश भट्ट, प्रशिक्षक, नेपाल
पहिलो खेलमा पराजित भएर पनि पुनरागमन गर्न सफल भएका छौँ । सेमिफाइनल पुग्ने चारै टोली बराबरका छन् । इरान र काजकिस्तान बलिया हुन् । उनीहरूको खेलाडीको हाइट बढी छ । हामीसँग तीन दिनको तयारी समय छ । त्यसैमा केन्द्रित भएर रिसिभ र ब्लकमा सुधार गर्नुपर्नेछ । यसका लागि तयार हुन्छौँ ।
राम्रो प्रदर्शन गर्न सफल भयौँ
निरुता ठगुन्ना, कप्तान, नेपाल
प्रशिक्षकको रणनीतिअनुसार खेल्यौँ । पहिलो खेलमा पराजित भए पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएका छौँ । माल्दिभ्सविरुद्ध निकै राम्रो खेल खेल्यौँ । सिनियर र युवा खेलाडीबाट राम्रो प्रदर्शन भइरहेको छ । डेब्यु गरेका खेलाडीले धेरै राम्रो खेलेका छन् । अब, सेमिफाइनलका लागि तयार गर्छाैँ ।