कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको ठहर गरेको छ । साथै, पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेकोसमेत ठहर गरेको छ ।
भेलापछि ११ बुँदे विज्ञप्ति जारी गरिएको छ । ‘१५औँ महाधिवेशनको कार्यतालिका १४औँ महाधिवेशनको समितिले सार्वजनिक गरी वडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित गराउँदै क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण आवश्यक छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सदस्यता नवीकरण शुल्क तिरेर अद्यावधिक कार्य सम्पन्न भइसकेको अवस्थामा पुनः अनावश्यक प्रक्रियामा अल्झिनुभन्दा संगठन सुदृढीकरण, प्रशिक्षण तथा कार्यकर्ता परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्दछौँ ।’
सदस्यता अद्यावधिकका विषयमा संस्थापन र इतर समूहबिच ठुलो मतभेद छ । इतर समूहले सदस्यता अद्यावधिक आवश्यक नरहेको बताउँदै आएको छ । सुदूरपश्चिममा सदस्यता अद्यावधिकका काम सबै ठाउँमा हुन सकेको छैन । पार्टी सभापति गगन थापाले भने सदस्यता अद्यावधिकको काम अगाडि नबढाउनेलाई पदबाट हटाउने चेतावनी दिँदै आएका छन् ।
भेलाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन साबिक तथा वर्तमान केन्द्रीय समितिबिच समन्वय कायम गरी तटस्थ निर्वाचन समिति आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ । विशेष महाधिवेशन गरिनु नै पार्टीले नराम्रो पराजय व्यहोर्नु परेको कारण रहेको ठहरसमेत भेलाले गरेको छ । ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले जनस्तरमा अपेक्षित विश्वास पुनस्र्थापित गर्न नसकेको भन्दै भेलाले यस विषयमा विषयमा गम्भीर समीक्षा आवश्यक रहेको जनाएको छ ।
निवर्तमान सभापति देउवामाथि विगतमा लगाइएका आरोपले पार्टी संगठनमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको पनि भेलाले औँल्याएको छ । वडादेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीको विधिविधानविपरीत पद खोस्ने कार्य भएको भन्दै भेलाले आपत्ति जनाएको छ । भेलाका निष्कर्ष सार्वजनिक गर्दै प्रदेश सभापति वीरबहादुर बलायरले एकपक्षीय तवरका यस्ता निर्णय यस्ता निर्णय स्वीकार गर्न नसकिने जनाएका छन् । भेलाले पार्टीभित्रको एकता कायम गर्न सभापति थापा नै लचक हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
पार्टीमा देउवाको सम्मान र स्थानको खोजी
भेलामा नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउवाको सम्मान पहिलो सर्त भएको बताएका छन् । उनीहरूले पार्टीमा देउवाको सम्मान, स्थान र उपस्थितिबारे नेतृत्वको स्पष्ट धारणा आउनुपर्ने माग गर्दै पार्टी कमिटीमा सहभागिता त्यसपछिको विषय भएको बताए । सदस्यता अद्यावधिकका नाममा पार्टीको तल्ला समितिमा रहेका पदाधिकारीलाई केन्द्रीय नेतृत्वबाटै धम्क्याउने काम भइरहेको भन्दै नेताहरूले आपत्तिसमेत जनाएका छन् । देउवा नेतृत्वबाट हटाइएपछि उनको गृहप्रदेशमा भएको उनी पक्षको यो पहिलो भेला हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देउवालाई बदनाम र अपमानित भएको हेर्न नचाहेको बताए । देउवाको सम्मान, स्थान र उपस्थितिबारे पार्टीको स्पष्ट धारणा उनले माग गरे । कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले देउवाको हुर्मत लिएर पार्टी चलाउँछु भनेर नसोच्न नेतृत्वलाई आग्रह गरे । उनले आगामी महाधिवेशनपछि आफ्नो समूह पुनः नेतृत्वमा फर्कने दाबी गरे । नेतृ ईश्वरी न्यौपानेले पार्टीमा आन्तरिक एकताका लागि निवर्तमान सभापति देउवाको सम्मान पहिलो सर्त भएको बताइन् । कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले सदस्यता अद्यावधिकका विषयमा तल्ला कमिटीका पदाधिकारीलाई कारबाहीको धम्की दिने कार्य नगर्न आग्रह गरे । उनले सदस्यता अद्यावधिकबारे यसअघि भएको निर्णयमा आफू दृढ रहेको बताए ।
भेलामा नेता एनपी साउदले विशेष अधिवेशनले पार्टीमा केहीले जित्ने र केहीले हार्ने स्थिति बनेको बताए । विशेष महाधिवेशन गर्दा चुनावमा पार्टीलाई घाटा हुन्छ भन्दा जबर्जस्ती गरिएको उनको भनाइ थियो । पूर्वमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनपछि एकताबद्ध भएर जानुपर्नेमा पार्टीभित्र देखिएको समस्याका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको बताए । उनले धनगढीमा गरिएको भेला पार्टी विग्रह गर्न नभई पार्टीलाई एकताबद्ध गरेर लैजान भएको प्रस्ट पारे । सभापति देउवाले लोकतन्त्रका लागि ठुलो योगदान गरेको उल्लेख गर्दै उनले त्यसको मूल्यांकन गर्दै पार्टीमा देउवालाई सम्मानको वातावरण हुनुपर्ने धारणा राखे ।